
२१ बैशाख, विराटनगर । चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज विराटनगर आउँदैछन् । विराटनगर महानगरपालिका लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा विराटनगर आउने भएका हुन् ।
उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा पनि आउनेछन् । दिउँसो १२ बजे पुष्पलाल चोकमा हुने चुनावी सभालाई सभापति देउवा, काङ्ग्रेस नेता शेखर कोइरालासहितका नेताहरुले सम्बोधन गर्नेछन् ।
नेपाली काङ्ग्रेस नगर सभापति दीपक चापागाईंले महानगर केन्द्रित चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय नेतृत्व आउन लागेको बताए । कार्यक्रमको आयोजक भने जिल्ला समिति रहेको उनले बताए ।
नेपाली काङ्ग्रेसले विराटनगरमा मेयरको उम्मेदवार नागेश कोइरालालाई बनाएको छ । उनलाई भोट माग्न आइतबार विमलेन्द्र निधि पनि विराटनगर आएका थिए । सत्तारुढ गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार जसपा महानगर अध्यक्ष अमरेन्द्र यादव छन् ।
कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरी देशका प्रमुख १० सहरहरुमा चुनावी सभा गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज पहिलो चुनावी सभा विराटनगरमा हुन लागेको हो ।
प्रतिक्रिया 4