
काठमाडौं । साहित्यकार वानीरा गिरिको पूर्णकदको सालिक अनावरण गरिएको छ । वानीरा गिरि फाउण्डेसन भवन र सोही भवनको परिसरमा साहित्यकार गिरिको सालिकको डा. वासुदेव त्रिपाठीले अनावरण गरे ।
यस्तै यसै वर्षदेखि प्रदान गर्न थालिएको एक लाख रुपैयाँ राशिको वानीरा प्रज्ञा पुरस्कार कवि तथा गीतकार कालिप्रसाद रिजाललाई र ५० हजार राशिको वानीरा पुरस्कार कवयित्री उषा शेरचनलाई प्रदान गरियो ।
त्यस अवसरमा वानीरा गिरिको सालिक निर्माता मूर्तिकार महेश तुलाधरलाई पनि २५ हजार राशिको वानीरा कला पुरस्कार प्रदान गरियो ।
२००१ साल वैशाख १३ गते भारतको खर्साङमा जन्मिएकी वानीरा गिरिको गत साल २०७८ जेठ ९ का दिन कोरोना संक्रमणका कारण निधन भएको थियो । गिरिका एउटा जङ्गबहादुर, जीवन थायमरु, मेरो आविष्कार, काठमाडौं काठमाडौं जस्ता कविता कृतिहरु, कारागार, निर्बन्ध, शब्दातीत शान्तनु जस्ता उपन्यास, पर्वतको नाम पार्वती, रोकिनेले आकार दिन सक्तैन लगायतका गद्यकृति प्रकाशित छन् ।
उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला साहित्यकार थिइन् भने साझा पुरस्कार पाउने प्रथम महिला साहित्यकार उनी नै थिइन् । उनलाई ‘शब्दातीत शान्तनु’का लागि साझा पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4