
काठमाडौं । बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । सञ्जय लीला भन्साली निर्देशित तथा आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म अप्रिल २६ देखि नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको छ ।
एक हप्ताको अवधिमा ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा विश्वका धेरै देशमा सबैभन्दा बढी हेरिने गैर–अंग्रेजी फिल्म बनेको छ । फिल्मलाई एक हप्ताको अवधिमा १३.८१ मिलियन घण्टाभन्दा बढी हेरिसकिएको छ ।
क्यानडा, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड र यूएईसहित २५ मा देशमा टप १० फिल्मको शीर्षस्थानमा रहेको छ । जसकारण आलिया भट्टको फिल्मलाई नेटफ्लिक्समा उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।
निर्देशक भन्सालीले भनेका छन्, ‘गंगुबाई काठियावाडी एक विशेष फिल्म हो, जसलाई म आफ्नो हृदयको एकदमै नजिक राख्छु । दर्शकहरुले सिनेमा हलमा पनि मन पराउनुभएको थियो र अब नेटफ्लिक्समा पनि मन पराइरहनुभएको छ । यो देखेर एकदमै खुसी छु । नयाँ दर्शकले खोजिरहेको फिल्म व्यापक पहुँचमा पुगेको छ र नेटफ्लिक्समा यसको सफलता पुष्टि भइसकेको छ । महिलाका लागि न्यायको लडाइँमा गंगुबाईको कहानी वास्तवमै सार्वभौमिक छ ।’
फिल्मको सफलताका विषयमा आलियाले पनि खुसी साटेकी छन् । उनले भारतबाहिर पनि नयाँ कथाको पर्खाइमा दर्शकहरु छन् भन्ने पुष्टि भएको बताएकी छन् ।
‘गंगुबाई काठियावाडी’मा आलियाका अलावा शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारी, सीमा पाह्वा लगायतको पनि मुख्य भूमिका छ । अजय देवगण फिल्ममा केमियो भूमिकामा देखिएका छन् ।
प्रतिक्रिया 4