+
+

नेपालको अर्थतन्त्र होइन, शासकीय चरित्र श्रीलंकाको जस्तो : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १५:००

२१ वैशाख, काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष  डा. स्वर्णिम वाग्लेले नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलंकाको जस्तै रहेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. वाग्लेले नेपाल र श्रीलंकाबीचमा केही समानता रहेको र त्यो शासकीय स्वरुपसँग बढी सम्बन्धित रहेको बताए ।

अर्थतन्त्रको प्रवृत्ति भने फरक फरक रहेको उनले उल्लेख गरे । डा. वाग्लेले अघिल्लो साता श्रीलंकाको संसदमा त्यहाँका अर्थतन्त्र उकास्ने उपायबारे विशेष छलफलमा भाग लिएका थिए ।

शासकहरुले हचुवाको भरमा लिने नीतिका कारण अर्थतन्त्र समस्यामा पर्ने भन्दै श्रीलंकाले त्यस्तै गरेका कारण सो मुलुक टाट पल्टेको उनले बताए । यसमा करमा दरहरुमा बीना अध्ययन चलाउनेदेखि लोकप्रिय हुन लिएका कतिपय नीतिले भूमिका खेलेको बताए ।

श्रीलंकाले सशस्त्र द्वन्द्व सकिएपछि पूर्वाधारमा अन्धाधुन्द ऋण लिएको सन्दर्भ निकाल्दै उनले केपी शर्मा ओलीको प्रधानमन्त्री भएका बेला भएका बहसहरु स्मरण गरे । सबै पूर्वाधार बनाइहालौं, बनेपछि नाफा भइहाल्छ भन्ने प्रवृत्तिमा बहस भएको स्मरण गर्दै उनले श्रीलंकाले विना अध्ययन यस्तै गरी विदेशी ऋण लिएर लगानी गरेका कारण आज समस्या आएको उनले उल्लेख गरे । वर्तमान सरकारले पनि हेलिकोप्टर खरिददेखि सुपारी आयात खुला गर्ने सम्मका नीतिप्रति प्रश्न उठ्ने गरेको बताए ।

निजी क्षेत्रको के दोष ?

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भएको भन्दै यसमा निजी क्षेत्रको भूमिका नरहने बताए ।

निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न नसक्दा यस्तो अवस्था आएको आरोप सरकारी स्तरबाट लगाउने गरिएको सन्दर्भ निकाल्दै उनले अर्थतन्त्र कहाँ लैजाने भन्ने जिम्मा निजी क्षेत्रको हातमा नरहने बताएका हुन् ।

निजी क्षेत्रको उद्देश्य नाफामूलक भएको भन्दै उनले कर्जा कहाँ गएको छ, सही दिशामा गयो वा गएन भनेर नियामक निकायले हेर्नुपर्ने बताए ।

कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले बेमौसमी बाढी, अन्तर्राष्ट्रिय कारणले भएको मूल्यवृद्धि र बाह्य क्षेत्र दबाब चुनौतीका रुपमा रहेपनि ५.८ प्रतिशतको आर्थिक वृद्धि प्राप्ति हुने बताए ।

कोभिडमा ठप्प भएको अर्थतन्त्रले एकसाथ गति लिंदा आयात बढेको भएपनि आयातको प्रवृत्ति सही छ कि छैन, त्यो महत्वपूर्ण हुने उनले बताए ।

मुलुकको आर्थिक अवस्था अहिले मात्र आएर बिग्रिएको नभइ लामो समयदेखि हुन नसकेको सुधारको नतिजा भएको समेत उनको भनाइ छ । बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले तरलता अभाव यो वर्षभर नै कायम रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?