
२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका स्थानीय तह चुनावमा देशमै सबैभन्दा धेरै उम्मेदवार भएको स्थानीय तह हो । यहाँ ८२६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जसमध्ये काठमाडौं महानगरका ३२ वटा वडामा वडाध्यक्षका लागि २०९ जनाको उम्मेदवारी परेको छ । यी २०९ जनामा २५ जना निवर्तमान वडाध्यक्ष छन् ।
२०७४ मा नेकपा एमालेबाट निवार्चित १८ वडाध्यक्ष मध्ये १५ जना फेरि मैदानमा छन् । जसमा ११ जना एमालेबाटै उम्मेद्वार भएका छन । एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादीबाट ४ जना वडाध्यक्ष उम्मेद्वार बनेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट विजयी भएका १४ मध्ये १० वटा वडामा पुरानै वडाध्यक्षहरु फेरि उम्मेद्वार बनेका छन् ।
काठमाडौंमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३२ वटै वडामा वडाध्यक्ष उठाएका छन् । नेपाली कांग्रेसले वडा नं. ३२ मा एकीकृत समाजवादीलाई समर्थन गरेको छ र अरु ३१ वटै वडामा उम्मेद्वारी दिएको छ ।
वडा नं. ३२ मा समर्थन पाए पनि अरु थप १९ वटा वडामा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार छन् । नेकपा माओवादी केन्द्रले १७ वटा वडामा वडाध्यक्षको उम्मेद्वारी दिएको छ ।
कांग्रेसले घटाउला एमालेको मत ?
नेकपा एमालेबाट अघिल्लो चोटी विजयी भएका १ नम्बर वडाध्यक्ष भरतलाल श्रेष्ठ फेरि उम्मेद्वार छन् । श्रेष्ठसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट किरण श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट अर्जुन महर्जनसहित ५ जना उम्मेद्वार छन् ।
२ नम्बर वडामा एमालेका राजेन्द्रकुमार श्रेष्ठसँग यसपाली नेपाली कांग्रेसका सूर्यलाल महर्जन, माओवादी केन्द्रका रमेश डंगोल लगायतले प्रतिस्पर्धा गर्दैछन् ।
९ नम्बर वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठलाई नेपाली कांग्रेसका रामजी भण्डारी, नेकपा एसका राजेन्द्र कुमार सिपाई नेवाःले चुनौती दिएका छन् ।
१२ नम्बर वडाध्यक्षमा उठेका विकास डंगोलसँगै नेपाली कांग्रेसका बालकृष्ण महर्जन प्रतिस्पर्धामा छन् । १३ नम्बरका वडाध्यक्ष ध्रुवकुमार मानन्धरसँग कांग्रेसका सुरेन्द्र मानन्धर भिडन्तमा छन् ।
यस्तै १८ नम्बर वडामा कांग्रेसका राजन महर्जनले यसअघिका वडाध्यक्ष न्हुच्छे काजी महर्जनलाई टक्कर दिँदैछन् ।
२१ नम्बर वडाध्यक्ष उदयचुडामणि वज्रचार्यलाई यो चोटी नेकपा एकीकृत समाजवादीका गौतम दास कर्मचार्यको चुनौती छ, । यहाँ कांग्रेसका मधुसुधन प्रधान पनि प्रमुख दाबेदारको रुपमा प्रस्तुत भएका छन् ।
२२ का वडाध्यक्ष चीनकाजी महर्जनसित भिड्न यो चोटी नेपाली कांग्रेसका शालिग्राम तन्दुकारलाई प्रमुख दाबेदारीको रुपमा हेरिएको छ ।
२३ मा मचाराजा महर्जनले नेकपा एकीकृत समाजवादीका ज्योती शाक्य, कांग्रेसका उत्तमरत्न मानन्धरको चुनौती सामना गर्दैछन् ।
२७ नम्बर वडामा चिनियामान वज्राचार्यसँग कांग्रेसबाट योगेश खड्गी, नेकपा एसका नविन प्रधान भिड्दैछन् । ३२ मा नवराज पराजुली फेरि उम्मेदवार भएका छन् । तर यहाँ नेपाली कांग्रेसको समर्थनमा सितादेवी कँडेल पराजुली उम्मेदवार भएकी छिन् ।
एमाले र एकीकृत समाजवादीको प्रतिस्पर्धा
एमालेले जितेको १७ वटा वडामध्ये ३ नम्बर वडाध्यक्ष दिपक केसी, ७ नम्बर वडाध्यक्ष शुद्ध डंगोल, काठमाडौं महानगरका प्रवक्ता समेत रहेका १५ नम्बर वडाध्यक्ष इश्वरमान डंगोल र २४ नम्बर वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीको तर्फबाट यो चोटी उम्मेद्वार भएका छन् ।
३ नम्बरका केसीसित एमालेका प्रेम थापा, ७ नम्बरका डंगोलसँग एमालेका कृष्णमणि भट्टराई, १५ नम्बरका इश्वरमानसँग पूर्णकाजी डंगोल र २४ नम्बरका बालकृष्णसँग एमालेका सुजन विलासी बज्रचार्य प्रमुख प्रतिस्पर्धी हुन् ।
कांग्रेसले जितेका वडामा एमालेलाई चुनौती
नेपाली कांग्रेसबाट ५ नम्बर वडाध्यक्षमा जितेका रमेश डंगोलसँग यो चोटी एमालेका विरेन्द्र प्रजापति भिड्दैछन्, १० नम्बरका रामकुमार केसीसँग एमालेका अशोक कार्की, माओवादीबाट देवेन्द्रकुमार देउजा प्रतिस्पर्धामाम छन् ।
११ नम्बर वडाध्यक्ष हिरालाल तण्डुकारको मुख्य प्रतिस्पर्धीमा एमालेका योगेन्द्रमान श्रेष्ठ देखिएका छन् ।
यस्तै १६ मा मुकुन्द रिजालसित एमालेका लक्ष्मीरत्न तुलाधरको प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।
१७ मा वडाध्यक्ष नवीन मानन्धरसँग, एमालेका मचाराजा मानन्धर भिड्दैछन् । २० नम्बर वडाध्यक्षमा राजेन्द्र मानन्धरसित एमालेका हितकर वीरसिंह ताम्राकार मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
२६ नम्बर वडाध्यक्ष ख्यामराज तिवारीलाई एमालेका तीर्थकाजी डंगोलले चुनौती दिइरहेका छन् । २९ मा पनि कांग्रेसबाट विजयी भएका भाइराम खड्गीसँग एमालेका बिपेन्द्र खड्गी प्रतिस्पर्धामा छन् ।
२९ मा कुश ढकालले एमालेका शिवराम राजवंशीसँग भिड्नु पर्ने भएको छ । कांग्रेसका ३० मा दलबहादुर कार्कीविरुद्ध यो पटक एमालेका उम्मेद्वार कृष्णभक्त खड्गी र नेकपा माओवादी केन्द्रका तीर्थ नारायण महर्जनले उम्मेद्वारी दिएका छन् ।
प्रतिक्रिया 4