
बाँकेका व्यापारी तथा नेता पशुपतिदयाल मिश्र नेकपा एमालेबाट नेपालगञ्जको मेयर उम्मेदवार छन् । २०७४ सालको चुनावमा बाँके क्षेत्र नम्बर २ बाट संघीय संसदमा प्रतिस्पर्धा गरेका उनी पराजित भए ।
त्यतिबेला हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा जोडिएर एमालेको सूर्य चिह्नबाट प्रतिस्पर्धा गरेका मिश्र एमालेबाटै मेयरको उम्मेदवार छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टीमा रहिसकेका उनी केही महिनाअघि मात्रै एमाले प्रवेश गरेका हुन् । उनै मिश्रसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको विगत हेर्ने हो भने चुनावैपिच्छे पार्टी परिवर्तन गरिरहनुभएको छ, यस्तो किन ?
जब जब व्यवस्था परिर्वतन भएको छ मैले दल परिवर्तन गरेको छु । नेपाली कांग्रेसमा हुँदाखेरि, म गाविस महासंघको अध्यक्ष थिए । त्यतिबेला सबै गाविस अध्यक्षको भनाइ के थियो भने तपाईं निर्वाचनमा सहभागी हुनुहोस् । त्यस बखत पार्टीले टिकट दिएन । साथीहरुले मलाई तीन दलको विरुद्धमा उठाए ।
२०५६ सालको निर्वाचपछि म स्वतन्त्र भएर बस्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले स्वतन्त्र भएर कति दिनसम्म बस्नुहुन्छ आउनुस् भने, हामी राप्रपा प्रवेश गर्यौं ।
राजतन्त्र गइसकेपछि तमलोपासँग आवद्ध भए । केन्द्रीय सदस्य, सहमहामन्त्री पनि भए । तमलोपा राजपामा परिणत भएपछि २०७४ को स्थानीय निर्वाचनमा पार्टीमा आन्तरिक विवाद भयो । म त्यसबाट अलग भएर र स्वतन्त्र राजनीतिक समूह गठन गर्यौं । संसदीय चुनावअघि नेकपा एमालेसँग सहकार्य भयो ।
२०७४ सालमा म एमालेको सूर्य चिह्न लिएर नै उम्मेदवार बनेको थिएँ । लगभग म एमालेमै थिएँ, औपचारिक रुपमा भने २०७८ मंसिर १ गते एमालेमा प्रवेश गरेको हुँ । र हाल म नेकपा एमालेको केन्द्रीय सदस्य छु ।
त्यसकारण समग्रमा भन्नुपर्दा परिवर्तनको हिसाबले जनताको चाहना अनुसार म लागेको हो । कुनै पार्टीमा स्वार्थका कारण लागेको हैन ।
अवसर खोज्दै दल परिवर्तन गरेको भन्ने आरोप छ नि त तपाईंमाथि ?
यो एकदम गलत हो । म कुनै राजनीतिक पार्टीमा त्यतिबेला प्रवेश गरेको छु, जतिबेला त्यो पार्टी सरकारमा नभएको इतिहास छ । समस्यामा परेको पार्टीमा मात्रै म प्रवेश गरेको अवस्था छ । अहिले पनि म एमालेमा जाँदा एमाले सत्ताभन्दा बाहिर नै थियो ।
राप्रपामा आवद्ध हुँदाखेरि सत्ताभन्दा बाहिर नै थियो । जतिबेला मैले कांग्रेस छाडें, त्यतिबेला कांग्रेस सत्तामा थियो । त्यसकारण मलाई सत्ता खोज्दै पार्टी परिवर्तन गरेको भन्ने सत्यता छैन ।
त्यसो भए तपाईं अवसरवादी होइन ?
ती पार्टीहरु सत्तामा नरहेकै बेला मेरो प्रवेश भएको छ । पार्टी समस्यामा भएका बेला नेताहरुको आग्रह अनुसार प्रवेश गरेको छु । मलाई पदलोभी वा सत्ताभोगीको कसैले भन्छ भने त्यो गलत हो भन्न चाहन्छु ।
तपाईं लोसपामा हुँदा २०७२ सालमा मधेश आन्दोलन भयो, त्यसबेला तपाईंले भारतीय भूमिमा बसेर नेपालतर्फ ढुंगामुढा गरेको भन्दै यस्तो व्यक्तिलाई किन भोट दिने भनेर प्रश्न उठेको छ ?
आन्दोलन जति पनि हुन्छ त्यसमा कुन किसिमको रोल छ । जस्तो मधेश आन्दोलनमा हामी मधेशी जनताको हकहित, अधिकारको लागि लडाईं लड्यौं । अहिले त्यो कुराहरु प्रमाणित भइसकेको छ ।
अहिले म नेकपा एमालेमा रहेको अवस्थामा मधेशी जनताको लागि पार्टी विकासदेखि लिएर समृद्धि र विधेयक पनि पेश गरिराखेको छ । नेपाली कांग्रेस पनि आन्दोलनको एक चरण पार गरेको छ । यहाँसम्म कि कांग्रेसको जन्म भारत नै हो ।
माओवादीले १७ हजार मानिसलाई काटेर अहिले सत्तामा आइसक्यो । जसपा हामी सँगसँगै थियो, अहिले उ सरकारमा पनि छ । कसैको माथि प्रश्न न उठने र सबभन्दा संयमित र व्यवस्थित आन्दोलन बाँके जिल्लामा भएको हो, नेपालगञ्जमा भएको हो ।
पशुपति मिश्रमाथि मात्रै यो प्रश्न उठनु पूर्वाग्रह मात्रै हो । हामीले गरेको जस्तो व्यवस्थित आन्दोलन कहिँ पनि भएको छैन । आन्दोलनका कारण कुनै पनि क्षति नेपालगञ्जमा भएको छैन ।
नेपालगञ्जमा नेकपाविरुद्ध पाँच दल लागेका छन्, गठबन्धन गरेका छन् । यस्तो स्थितिमा प्रतिस्पर्धा कस्तो देख्नुहुन्छ ?
गठबन्धन नेपालगञ्जमा सफल छैन, पहिला पनि भएको छैन, अहिले पनि हुँदैन । किनकी नेताहरुले गठबन्धन गर्छन्, जनताले गर्दैनन् । पुरानो इतिहास हेर्ने हो भने २०७४ सालको निर्वाचनमा पनि राप्रपा र कांग्रेस तथा एमाले र माओवादीको गठबन्धन थियो ।
दुबैलाई हेर्दा धेरै मत थियो तर जितेर को आयो भन्दा मोहमद इस्तियाक राई । पाँच हजार मात्रै आएको व्यक्ति २५ हजार मत लिएर आयो । त्यो अघि पनि त नेपालगञ्जमा राप्रपा जितेको थिएन तर राप्रपाका धवलशम्शेर जित्नुभयो । त्यस कारण यहाँको जनताले गठबन्धन रुचाउँदैन ।
यहाँ को राम्रो कसले काम गर्न सक्छ भन्ने कुरा जनताले बुझेका छन् । यहाँ सत्ता पक्षलाई जहिले नै पन्छ्याएर जनताले आफ्नो पक्ष लिन्छ । र मलाई लाग्छ यसपालि पनि जनताले निर्णय लिइसकेका छन् । लगभग लगभग केही दिन भित्र त्यो निर्णय मतपत्रको माध्यमबाट सार्वजनिक पनि हुनेछ । जनताको गठबन्धनका अगाडि त्यो राजनीतिक गठबन्धन चल्दैन ।
एमाले प्रवेश गर्नेवित्तिकै मेयरको टिकट पाउनुभयो । एमालेकै पुराना नेताहरु आकांक्षी थिए, उनीहरु त तपाईंसँग रिसाएका होलान्, यसले चुनावमा केही असर गर्दैन ?
नेकपा एमालेबाट पार्टीका नेता दत्तप्रसाद आचार्यको नाम आएको थियो । तर उहाँ मेरो नाम आएपछि सन्तुष्ट हुनुभएको छ । उहाँ पछाडि हट्नुभयो । अहिले एमालेको निर्वाचन प्रसार प्रसारको संयोजकमा समेत आचार्य बस्नुभएको छ ।
अन्य कार्यकर्ताभन्दा बढी उहाँले त्यो जिम्मेवारीलाई पूरा गर्न तल्लिन देख्छु । त्यस कारण उहाँ असन्तुष्ट रहेको कुरामा म विश्वास गर्दिन । एमालेको जितका लागि उहाँ सक्रियताका साथ लाग्नुभएको छ । अहिले हामी एक ढिक्का भएर लागेका छौं । कुनै समस्या छैन ।
२०७४ मा प्रतिनिधि सभा सदस्यमा लडेको मान्छे किन स्थानीय निकायमा उम्मेदवार बन्नुभयो ? कारण के होला ?
स्थानीय सरकार भनेको धेरै परिवर्तन गर्न सक्ने निकाय हो । स्थानीय सरकार भनेपछि यो सरकारको रुपमा काम गर्छ । संसद जितेर गएपछि त्यो निर्वाचन क्षेत्रको प्रतिनिधि भएर काम गर्छ । स्थानीय तहको नेतृत्व भनेको कार्यकारी पद हो । संसद कार्यकारी पद नभएर सदस्य मात्र हो ।
यो कार्यकारी पदले ठूलो परिवर्तन गर्छ । एउटा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो परिवर्तन गर्न सक्दैन । र अर्को कुरा यहाँ जनताको आग्रह पनि हो ।
विगत पाँच वर्षमा जुन किसिमले धवलशम्शेरलाई निर्वाचित गराएर पठाएका छन् त्यो अनुसारले अनुभूति हुन सकेको छैन ।
तपाईं को नेतृत्व भयो भने पाँच वर्षपछि नेपालगञ्जबासीले के पाउँछन् त ?
धेरै आमूल परिवर्तन हुन्छ भन्ने कुरा मैले भनिसकेको छु । यहाँ शिक्षा, स्वास्थ्य, भौतिक विकासमा आमूल परिवर्तन हुन्छ । समृद्ध नेपालगञ्ज र समुन्नत नेपालगञ्ज कसरी बन्छ भन्ने कुराको अनुभूति हुन्छ । रोजगारीको क्षेत्रमा फड्को मार्छ । जुन हामीले प्रतिबद्धता जाहेर गरेका छौं, त्यही अनुसार कार्य अघि बढ्छ । पश्चिम नेपालमा नेपालगञ्जबाट अन्य शहरले सिको गर्नेछन् ।
प्रतिक्रिया 4