
काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को आवेदन खुला भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेस्रो संस्करणको आयोजनाबारे जानकारी दिइएको हो ।
प्रतिस्पर्धीको मापदण्डलाई खुकुलो बनाउँदै नियम पनि सार्वजनिक गरिएको छ । आगामी संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन । समलैंगिक महिलाले पनि भाग लिन पाउने भएका छन् भने आप्रवासीलाई पनि मौका दिइएको छ ।
प्रतियोगिताकी नेपाल निर्देशक नग्मा श्रेष्ठले प्रतिस्पर्धालाई समावेशी बनाउन नियमहरुलाई खुकुलो तुल्याइएको बताइन् । आवेदन दर्ता मे ५ देखि दुई महिनासम्म खुला हुने भएको छ ।
एन्ड्रोइड र एप्पल स्टोरबाट प्रतियोगिताको एप डाउनलोड गरेर आवेदन दर्ता गर्न सकिने भएको छ । प्रेसमिटमा मिस युनिभर्स नेपालको एप पनि लञ्च गरियो ।
जुलाई ८ मा आवेदकमध्येबाट योग्य प्रतिस्पर्धी छनोट गरेर क्वार्टरफाइनलका प्रतिस्पर्धी घोषणा हुने भएका छन् । अगस्ट २ मा सेमीफाइनलका प्रतिस्पर्धी तय हुनेछन् । अगस्ट ८ देखि बन्द सत्र सुरु हुनेछ । अगस्ट ११ मा अन्तिम प्रतिस्पर्धा हुने भएको छ ।
ताज विजेताले १० लाख नगदसहित स्कटुर लगायतका पुरस्कार जित्नेछन् । चारजना उपविजेता घोषणा हुने र उनीहरुले अर्को वर्ष हुने प्रतियोगितामा भाग लिन नपाउने भएका छन् । आयोजक संस्था उमंग क्रिएसनले अबको दुई महिनासम्म नेपालभर कार्यशाला सञ्चालन गर्ने भएको छ ।
‘सौन्दर्य प्रतियोगिताको लोकतान्त्रीकरणका निम्ति मापदण्डलाई चुनौती दिंदै र अवरोध भत्काउँदै’ प्रतियोगिता गर्न लागिएको मिस युनिभर्स नेपालले वक्तव्यमा जनाएको छ ।
प्रतियोगिताको सन् २०२१ को उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4