
२४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् ।
उनले अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाव रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावी समेत गरे ।
उनले कोरोना महामारीपश्चात बैंक तथा वितीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए । मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यात भन्दापनि आयात एक्कासी रुपमा ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाव परेको उनको भनाइ छ ।
आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे ।
उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।
‘हामीले यस वर्षको नीति तथा कार्यक्रम बजेटमा केही फन्डामेन्टल पक्ष आधारभूत नीतिगत व्यवस्थालाई पुनर्विचार गर्न पर्ने आवश्यकता आएको छ, अब देश सधैं आयातमा निर्भर भएर चल्नेवाला छैन’ उनले भने ।
डा. उप्रेतीले अघि भने, ‘उत्पादनसँगै रोजगारी देशभित्र नै सिर्जना गर्न सकिएन भने समृद्धिको सपना पूरा गर्न सकिदैन । विल्कुलै सकिदैन । त्यसैले अबको कार्यक्रममा आफ्नै तुलनात्मक लाभका क्षेत्रहरु छन् । तिनीहरुको गहिरो रुपमा अध्ययन गरेर व्यापक ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया 4