
२५ वैशाख, काठमाडौं । नेकपा (एमाले)ले आफ्नो नेतृत्वको सरकारले देशलाई ऊर्जा संकटको स्थितिबाट लोडसेडिङमुक्त बनाएको दावी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई जारी गरेको अपीलमा आफू नेतृत्वको अघिल्लो सरकारको पालामा भएका कामको व्याख्या गर्दा देशलाई लोडसेडिङमुक्त बनाएको उल्लेख छ ।
‘हामी तीब्र गतिमा विद्युत उत्पादन गरी छिमेकी मित्रराष्ट्रहरू भारत, चीन र बङ्गलादेशतर्फ विद्युत निर्यात गर्न अन्तरदेशीय विद्युत प्रसारण लाइनहरू निर्माण गर्न सुरू गर्दै थियौं,’ अपीलमा भनिएको छ ।
गत ७ चैतमा काठमाडौंमा भएको ‘युवासँग म’ कार्यक्रममा ओलीले लोडसेडिङ अन्त्य भएको भनेर प्रचार मात्रै गरिएको बताएका थिए । ३० वैशाख २०७५मा उद्योगबाट पनि लोडसेडिङ हटाएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले नै लोडसेडिङ अन्त्यको घोषणा गरेको थियो ।
सर्वसाधाराणको घरमा हुने लोडसेडिङ भने त्यसअघि नै हटिसकेको थियो । पूर्ण रूपमा लोडसेडिङ हट्नुलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो सरकारको सफलताको सूचीमा राख्दै आएको थियो ।
नेकपा एमालेका नेताहरुले मात्रै हैन, ओली स्वयमले नै लोडसेडिङ अन्त्यलाई आफ्नो सरकारको योजनाको परिणाम र सफलताका रुपमा अर्थ्याउने गरेका छन् ।
तर, ७ चैतमा ओलीले लोडसेडिङ अन्त्य भएको भनिए पनि बत्ती जान नछोडेको बताएका थिए । ‘..लोडसेडिङ यस्तो छ, बोल्दै गर्दा ३ पटक बत्ती जान्छ,’ ओलीले भनेका थिए ।
फेरि सरकारको कार्यप्रगतिमा ओलीले ‘लोडसेडिङको अन्त्य’लाई पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4