
काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा उछाल ओपनिङ गरेको छ ।
फिल्मले शुक्रबार र शनिबार गरी दुई दिनमा २ करोड ११ लाख रुपैयाँ ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । एप्पल व्यवस्थापक जेनिस पहारीका अनुसार मुलुकका ५४ पर्दाबाट साम रेइमी निर्देशित फिल्मले उक्त कमाइ गरेको हो ।
क्यूएफएक्ससहितका मुख्य मल्टिप्लेक्समा शुक्रबार र शनिबार लगभग सबै शोको टिकट अग्रिम बिक्री भइसकेको थियो । ‘अझै केही साता डक्टर स्ट्रेन्ज-२ ले राम्रो कमाइ गर्न सक्छ,’ पहारीले अनलाइनखबरसँग भनिन् ।
नेपालमा समेत छायांकन गरिएको फिल्मको सिरिज भएको र हलिउड स्टुडियो मार्भलको सुपरहिरो फिल्म भएकाले पनि दर्शकको आकर्षण बढेको बुझ्न सकिन्छ । ‘डक्टर स्ट्रेन्ज-२’को यो ओपनिङ एप्पलकै अघिल्लो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’कै हाराहारी हो ।
टम हल्यान्ड स्टारर ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्स अफिसमा ७ करोड ३० लाख ग्रस लाइफटाइम कारोबार गरेको छ । ‘केजीएफ-२’को प्रभाव मत्थर भएको बेला रिलिज भएको ‘डक्टर स्ट्रेन्ज-२’ले मल्टिप्लेक्समा दबदबा जमाउन सुरु गरेको छ ।
भारतीय बक्स अफिसमा ‘डक्टर स्ट्रेन्ज-२’ले पहिलो सप्ताहन्त ७८.५० करोड नेट कलेक्सन गरेको छ । आइतबार मात्रै भारतमा फिल्मले २४.५० करोड नेट कमाएको छ ।
पहिलो सप्ताहन्तमा फिल्मले विश्व बक्स अफिसमा ४५० मिलियन डलर कमाइ गरेको छ । अमेरिकी बक्स अफिसमा मात्र १८५ मिलियन डलर र ओभरसिजमा २६५ मिलियन डलर कमाइ गरेको डेडलाइन म्यागजिनले जनाएको छ ।
‘स्पाइडरम्यान : नो वे होम’पछि यो महामारीकालकै दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म भएको बताइन्छ । मार्भल सिनेम्याटिक युनिभर्सअन्तर्गत यो फिल्म चौथो सर्वाधिक कमाइ गर्ने फिल्म भएको पनि जनाइएको छ ।
प्रतिक्रिया 4