
काठमाडौं । निर्माता तितरबितर र मुख्य कलाकार नै कारागार चलान भएपछि अनिश्चित बनेको फिल्म ‘सत्यम्’ निर्माण हुने भएको छ । मुख्यमध्येका एक अभिनेता राजेश हमाललाई मात्र फिचर्ड गरेर केही दिनमै लिरिकल गीत रिलिजको तयारी भएको छ ।
माहोल तयार पार्न र फिल्म निर्माण निश्चित भएको जानकारी दिलाउन गीत रिलिजको तयारी भएको स्रोतले जनाएको छ । रिलिज तयारीमा रहेको गीतमा हमालबाहेक अन्य कास्ट एण्ड क्रिउको नाम उल्लेख नहुने जनाइएको छ ।
‘सत्यम्’अघि हमाल नयाँ फिल्म ‘मायाको माया’ छायांकनमा व्यस्त हुने भएका छन् । यो फिल्म चुनावलगत्तै छायांकनमा जाने बताइएको छ ।
फिल्म सुटिङ हुने निश्चित भएपछि निर्माता पल शाहको पर्खाइमा छन् । जबर्जस्ती करणीको मुद्दामा दुई महिनादेखि तनहुँ कारागारमा रहेका पल त्यसअघि नै फिल्ममा अनुबन्धित भइसकेका थिए ।
पलको रिहाइ नभए उनको ठाउँमा नयाँ कलाकारलाई लिएर अघि बढ्ने तयारीमा निर्माता छन् । निर्माता रेशम सापकोटाले पललाई कुर्ने र उनी रिहाइ नभए नयाँ कलाकार लिएर अघि बढ्ने योजनामा आफूहरु रहेको बताए ।
छायांकन सेट र कलाकारको पारिश्रमिक लगायतमा फिल्मले ६० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च भएको बताइन्छ । अभिनेता हमालले पनि फिल्मबाट महंगो पारिश्रमिक लिएको स्रोत बताउँछ ।
प्रतिक्रिया 4