
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रबारे नेकपा एमालेले गरेको अपिलको प्रतिवाद गरेको छ ।
नेकपा एमालेले आइतबार एक अपिल जारी गर्दै कांग्रेसको घोषणापत्रको खण्डन गरेका थिए । त्यसको भोलिपल्ट सोमबार नेपाली कांग्रेसले फेरि ओलीले अपिलमा प्रस्तुत गरेका विषय मिथ्या रहेको भन्दै खण्डन गरेको हो ।
‘स्थानीय जनताका आवश्कता र इच्छालाई पूरा गर्ने यो संकल्पमा निहित नीति र कार्यक्रम आउनासाथ प्रतिस्पर्धी राजनीतिक दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकै उत्तेजित र आक्रोशित भएर हामीप्रति निकै निम्नस्तरको गाली गलौजमा उत्रिनुभएको थियो’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने ।
कांग्रेसले ०७४ को स्थानीय चुनावबाट निर्वाचित आफ्ना पार्टीका जनप्रतिनिधिले उत्कृष्ट काम गरेको जिकिर गरेको छ । ‘उत्कृष्ट १० मध्ये ६ वटा नेपाली कांग्रेसका प्रतिनिधिहरुले नेतृत्व गरेका पालिका परेको देखिएको छ । कमजोर १० मा आधा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिले नेतृत्व गरेका पालिकाहरु परेका छन्’ कांग्रेसको दाबी छ ।
गरिबीको दर पनि कांग्रेस सरकारको नेतृत्वमा हुँदा उल्लेखनीय घटेको आंकडा प्रस्तुत गरिएको छ । २०४८ सालमा सत्ताको बागडोर सम्हाल्दा नेपालमा गरिबी झण्डै ४९ प्रतिशत जनाउँदै त्यसलाई १७.५ प्रतिशत पुर्याएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले दाबी गरे ।
‘१७.५ प्रतिशतमा झरेको गरिबीलाई २२ प्रतिशतमा कसले पुर्यायो ?’ एमालेप्रति आरोप लगाउँदै डा. महतले प्रश्न गरे । कोभिड संक्रमणको बेला तत्कालिन ओली सरकारले जनताको समस्या बेवास्ता गर्दा गरिबी बढेको कांग्रेसको ठहर छ ।
प्रजातन्त्र स्थापना पछिका ३२ बर्षमा नेपाली कांग्रेसले २७ बर्ष शासन गरेको ओलीको दाबीलाई कांग्रेसले खण्डन गरेको छ ।
‘आफ्नै नेतृत्व (नेपाली कांग्रेसले १६ बर्ष ६ महिना) र विभिन्न गठबन्धनमा रहेर कूल २१ बर्ष सत्ता सम्हालेको छ । नेकपा एमाले १४ पटक सरकारमा पुगेको छ’ कांग्रेसले भनेको छ, ‘एमालेले एकल अल्पमतको सरकारसहित ५ पटक सरकारको नेतृत्व सम्हादै आफ्नै नेतृत्वमा ७ बर्ष र संयुक्त सरकार समेत गरी १६ वर्ष राज्य सञ्चालन गरेको छ ।’
कांग्रेसले २०४८ सालदेखि हालसम्म सुधारका काममात्रै गरेको प्रवक्ता महतको दाबी थियो । सडकको ‘व्यापक विस्तार’ आफ्नै कारणले सफल भएको कांग्रेसकै निचोड निकालेको छ । ‘२०४८ सालमा देशमा यातायात चल्ने सडक जम्मा सात हजार ३३० किमी सडक थियो । यसमा कालोपत्रे दुई हजार ९५८ किमी र ग्राभेल एक हजार ६६५ किमी तथा कच्ची सडक २,७१४ किमी थियो’ कांग्रेसले आफ्नो दाबीमा भनेको छ ।
उसले अघि भनेको छ, ‘२०७६/७७ मा आइपुग्दा कालोपत्रे सडक १५ हजार ४१४ किमी, ग्राभेल आठ हजार ६२२ किमी, कच्ची सडक नौ हजार १९८ किमी निर्माण भएको थियो । यो सबै नेपाली कांग्रेसले सडक पूर्वाधारमा बढाएको ब्यापक लगानीको परिणाम हो ।’
पूर्व सरकारले मूलुकलाई आर्थिक ऋणमा डुबाउने प्रयत्न गरेको आरोप कांग्रेसले लगाएको छ । मूलुक श्रीलंकाको बाटोमा जाने जोखिमबाट जोगाउने कार्य कांग्रेसबाट सम्भव भएको दाबी गरिएको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ऋणको अंश बढेको प्रवक्ता महतले बताए । ओली सरकारको समयमा छिमेकी मित्रराष्ट्रसंगको सम्बन्ध असन्तुलित बनाएको कांग्रेसको आरोप छ । ‘नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गुमाउदै गएको साखः पुनस्थापित गरिएको छ ।’ कांग्रेसले एमालेको प्रतिवादमा लेखेको छ ।
कांग्रेसले तर सोमबार सर्वाजनिक वक्तव्यमा आफूहरु संसदको पूर्ण कार्यकालको पक्षमा रहेको दाबी गरेको छ । ‘संसदलाई पूर्णावधि कायम राख्न हिजो पनि प्रतिबद्ध थियो, आज पनि छ’ कांग्रेसले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ ।
संसदलाई बन्धक बनाउने कार्य एमालेबाट भएको भन्दै कांग्रेसले दोष आफूहरुलाई नथोपर्न चेतावनी दिएको छ । कांग्रेसले संसद कहिले पनि बन्धक नबनाएको उल्लेख गर्दै विगतमा पनि ५८ दिन संसद अवरोध एमालेले गरेको स्मरण गराएको छ ।
ओली सरकार संघीयता विरोधी रहेको आरोप पनि कांग्रेसले लगाएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक निकायलाई कब्जामा पार्ने दुष्प्रयास गरेको कांग्रेसको आरोप छ । राज्य कब्जाको नियतले संवैधानिक निकायलाई आफ्ना मान्छेहरु भर्ती केन्द्र बनाएको उसको टिप्पणी छ ।
एमालको अपिल विरुद्ध कांग्रेसको प्रतिवादको पूर्ण पाठ
प्रतिक्रिया 4