
२७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरालाई विपक्षीहरूले खिल्ली उडाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेले बनाएको धरहरालाई विपक्षीले मचानजस्तो देखेको बताए ।
‘हामीले हाम्रा ऐतिहासिक धरोहरहरू, पूरात्वत्तिक महत्वका, धार्मिक आस्थाका, हाम्रो परम्परा, संस्कार र संस्कृतिसँग जोडिएका विषयहरूको रक्षा गर्दा पनि विपक्षीहरू खिल्ली उडाउँछन्,’ ओलीले भने, ‘भूकम्पले धरहरा भत्कायो । धरहरा एमालेको सरकारले बनायो भनेर त्यसलाई सेतो भ्यूटावर बाहेक केही पनि होइन भने । धरहरालाई एउटा मचान देखे उनीहरूले । धरहरालाई इतिहासि देखेनन् । गौरव देखेनेन् । कठैबरी !’
उनले विपक्षी नेताहरु मलेसिया, थाइल्याण्ड, अमेरिका, फ्रान्सलगायत विभिन्न मुलुकमा पुगेर त्यहाँका टावरमा चढेको तर त्यसको महत्व बुझ्न नसकेको टिप्पणी गरे ।
‘पेरिस पुगेर आइफेल टावर जान्छन् । टुप्पामा पनि पुग्छन्, के देख्छन्, के हेर्छन् ? के बुझ्छन् ? अचम्म लाग्छ,’ उनले भने । उनले मलेसिया, थाइल्याण्ड र अमेरिका पुगेर त्यहाँका टावरमा गएर चढ्ने गरेको भए पनि के बुझ्छन् भनेर अचम्म लागेको बताए ।
प्रतिक्रिया 4