
काठमाडौं । विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ कोरोना महामारीपछि बक्स अफिसमा सबैभन्दा सफल बन्यो । न्यून बजेटमा निर्माण भएको फिल्मलाई आम दर्शकले चाहिं मिश्रित प्रतिक्रिया दिए ।
भारतभित्रै ब्लकबस्टर बनेको फिल्मलाई पूर्वी एसियाली मुलुक सिंगापुरले भने प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मुस्लिम समुदायलाई एकतर्फी रुपमा चित्रण गरिएको भन्दै मंगलबार त्यहाँको सेन्सर बोर्डले फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो ।
भेराइटी म्यागजिनका अनुसार साम्प्रदायिक सहिष्णुता खलबल्याउने कारण देखाउँदै सिंगापुर सेन्सर बोर्डले ‘द कश्मीर फाइल्स’लाई रोक लगाउने निर्णय लिएको हो । त्यहाँको संस्कृति र सञ्चार मन्त्रालयसँगको परामर्शमा सेन्सर बोर्डले जारी गरेको वक्तव्यमा फिल्मलाई कश्मिरी पण्डित र मुस्लिम समुदायबीच फाटो ल्याउने किसिमले फिल्म बनाइएको र यसले दर्शक भड्काउने उल्लेख छ ।
सिंगापुरको फिल्म निर्देशिकाको मापदण्डलाई यसले आत्मसात नगरेको उक्त वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया 4