
काठमाडौं । दिवंगत र्याप गायक यमबुद्धको सम्झनामा उनको फ्यान क्लबले अनाथ बालबालिका र वृद्धाश्रममा आश्रितलाई सहयोग गर्ने भएको छ । साथै, राउटे समुदायलाई समेत क्लबले सघाउने भएको छ ।
फ्यान क्लबका अध्यक्ष लोकेश पौडेलले च्यारिटीका लागि राहत संकलन गरिने अशक्त र अनाथलाई सघाउने बताए । सडक बालबालिकालाई पनि सघाउने उनको भनाइ छ । आगामी जेठ १६ गते क्लबले यमबुद्धको जन्मदिन स्मृतिमा च्यारिटी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
यमबुद्ध फाउन्डेसनसँग मिलेर क्लबले यसअघि वृद्धाश्रम र विद्यालयमा शैक्षिक तथा राहत सामग्री वितरण गरेको थियो । यमबुद्ध नामले चिनिने र्याप गायक अनिल अधिकारीको १४ जनवरी २०१७ मा लण्डनमा निधन भएको थियो ।
उनी ३० मे १९८७ मा मोरङको सलकपुरमा जन्मिएका थिए । साथी, आमा, आउँदै छु म, यो प्रसंग, अन्त्यको सुरुवात उनका चर्चित गीत हुन् । लोकप्रिय र्याप ब्याटल र बार्जलाई उनले नेपालमा सुरुवात गरेका थिए ।
प्रतिक्रिया 4