
काठमाडौं । पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् । उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् ।
यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल बन्द हुने भएकाले शनिबार प्रदर्शन गर्न लागिएको हो ।
मानन्धरको वितरण कम्पनी सिंहदेवी प्रोडक्सनले भारु २१ लाख (३३ लाख ६० हजार नेपाली रुपैयाँ)मा उक्त फिल्म खरिद गरेको हो । उनले यशराजका अन्य फिल्मलाई पनि नेपालमा ल्याउने जनाए ।
सुनिलले स्थापना गरेको दर्शना आर्ट्सले सन् २०१३ मा शाहरुख खान स्टारर ‘चेन्नई एक्सप्रेस’ समेत वितरण गरेको थियो । उनले पछिल्लोपटक ‘इटी’ फिल्म वितरण गरेका थिए ।
यशराज ब्यानरमा बनेको कमेडी ड्रामा फिल्म ‘जयशभाइ जोरदार’मा रणवीर सिंह, शालिनी पाण्डे र बोमन इरानीको मुख्य भूमिका छ । दिब्यांग ठक्करले फिल्मको लेखन तथा निर्देशन गरेका हुन् ।
अभिनेता सिंहले मंगलबार भिडियो सन्देश जारी गर्दै नेपाली दर्शकलाई हलमा गएर फिल्म हेर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4