
काठमाडौं । पहिलोपटक मतदान अधिकार प्रयोग गर्न लागेका कतिपय सेलिब्रिटी उत्साहित देखिएका छन् । उनीहरुले भोट हाल्ने अनुभव बटुल्न लागेकोबारे अनलाइनखबरसँग खुसी व्यक्त गरे ।
‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापाले पहिलोपटक भोट हाल्दैछिन् । उनले काठमाडौं बुद्धनगरमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछिन् । बुवा तथा निर्माता सुनिलकुमार थापा र आमा तथा निर्देशक झरनासँगै सुहानाले मतदान गर्ने भएकी हुन् ।
‘नेपाल आइडल’ फेम्ड गायक प्रताप दासले पनि पहिलोपटक मतदान गर्दैछन् । शुक्रबार बिहानै मतदान केन्द्र पुगेर भोट हाल्न आफू आतुर रहेको प्रतापले बताए । उनको निर्वाचन क्षेत्र ललितपुरको गोदावरी नगरपालिका हो ।
पहिलोपटक भोट हाल्न लागेकोबारे गायक दासले भने, ‘निकै एक्साइटेड छु । जीवनमा पहिलोपटक भोटको अनुभवलाई लिएर उत्साहित छु । परिवारसँगै गएर भोट हाल्नेछु ।’
‘मेरी बास्सै’ फेम्ड अभिनेता कुमार कट्टेल जिग्री ब्रोले झापा गौरादह नगरपालिका-२ स्थित अमर माविबाट पहिलोपटक मतदान गर्ने भएका छन् । पहिलोपटक मतदान गर्ने अवसर जुरेको उनले बताए ।
अनलाइनखबरसँग सम्पर्कमा आएका केही सेलिब्रिटी चाहिं स्थानीय चुनावमा मतदानबाट वञ्चित हुने देखिएको छ । कोही कामको सिलसिलामा काठमाडौंमा रहेकाले, कोही बिरामी भएको, कोहीले मतदाता नामावलीमा नाम नटिपाएको र कोही विदेशमा रहेकाले मतदानको अवसर नपाउने भएका हुन् । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रतिक्रिया 4