
३० वैशाख, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका अध्यक्षका उम्मेदवारको गाडि एक वृद्धलाई ठक्कर दिएको छ ।
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार जनककुमार बाँठाको गाडीले ठक्कर दिँदा ६० वर्षीय पर्जे खत्री गम्भीर घाइते भएका हुन् । बाँफीकोट गाउँपालिका वडा नम्बर ७ ढारवाङको नेपाल राष्ट्रिय मावि मतदान स्थलमा मतदान गर्न आएका खत्रीलाई अध्यक्षका उम्मेदवार बाँठाको गाडीले ठक्कर दिएको हो ।
गाडीको ठक्करबाट घाइते खत्रीको छिन्खेतमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा थप उपचार हुँदैछ । सबै मतदानस्थल घुमिरहेका बाँठा मतदानस्थल पुग्दा होहल्ला भएको थियो । होहल्ला भएपछि गाडी फर्काउने क्रममा गाडीले खत्रीलाई ठक्कर दिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।
प्रजिअ घिमिरेका अनुसार गाडी चालक र उम्मेदवार बाँठालाई सुरक्षित गरिएको र केही समय रोकिएको मतदान पुनः सुरु गर्ने तयारी भएको छ ।
प्रतिक्रिया 4