
१ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना रोकिएको छ । बदर मतको विषयमा विवाद भएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिइन् ।
मतगणनामा खटिएका कर्मचारीले बदर मत देखाउने नाममा धाँधली गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ ।
कांग्रेसले पुनः मतगणनाका लागि निर्वाचन अधिकृत समक्ष निवेदन दिएको छ । कांग्रेसको मागको सम्बन्धमा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भएपनि विवाद समाधान हुन नसक्दा मतगणना रोकिएको सुवेदीले बताइन् । माथिल्लो निकाय र कानुनी आधारमा आवश्यक निर्णय गर्ने गरी हाल मतगणना कार्य स्थगित गरिएको उनले बताइन् । ‘माथीबाट जे आदेश आउँछ, त्यही गर्छु’ सुवेदीले भनिन् ।
यता नेकपा एमालेले भने मतपरिणामका बारेमा चित्त नबुझेको बाहनामा कांग्रेसले मतगणना रोक्न षडयन्त्र गरेको आरोप लगाएको छ ।
वडा नम्बर-३ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजय भएको घोषणा गरिएको थियो । उक्त वडामा बदर मतमा लगाइएको स्वस्तिक छापका बारेमा समेत विवाद छ ।
प्रतिक्रिया 4