+
+

कास्कीमा भत्किंदै एमाले दबदबा

माछापुच्छ्रेमा कांग्रेस विजयी

अमृत सुवेदी विकास रोकामगर अमृत सुवेदी, विकास रोकामगर
२०७९ जेठ २ गते ६:५४

२ जेठ, पोखरा । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, कास्कीमा अन्नपूर्ण गाउँपालिका मात्र  खुम्चिएको थियो । पोखरा महानगरपालिकामा करिब १४ हजार मतान्तरले विजय भएको नेकपा एमालेले कास्कीमा बहुमत वडाहरुसहित ४ स्थानीय तहका दबदबा जमाएको थियो । स्थानीय तहमा ५ वर्ष शासन चलाएको एमालेले बिरासत गुमाउने संकेत गरेको छ ।

यसअघिको कांग्रेस जस्तै कास्कीमा एमाले एउटा पालिकामा खुम्चिन सक्ने मत परिणामले देखाइरहेको छ ।

अघिल्लो निर्वाचनमा एक हजारभन्दा धेरै मतान्तरले ८ वडा वडासहित चुनाव जितेको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अहिले नेपाली कांग्रेसले एमालेको दबदबा भत्काएको छ । अघिल्लो निर्वाचनमा वडा नम्बर १ मा मात्र चुनाव जितेको नेपाली कांग्रेसले यसपटक ७ वटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ भने एमाले एउटा वडामा खुम्चिएको छ ।

कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङले ७ हजार ९९ मत ल्याउँदै जीत हाँसिल गरेका छन् । यसअघि वडा नम्बर २ का अध्यक्ष रहेका बिक्रम गुरुङ एमालेबाट अध्यक्ष पदका उम्मेदवार थिए । विक्रमले ६ हजार ६१७ मत ल्याउँदा मीनबहादुरले ४८२ मतान्तरले विजयी भए । उपाध्यक्षमा नेपाली कांग्रेसकै सीता अधिकारीले ६ हजार ३७६ मत ल्याएर विजयी भइन् । एमालेबाट उपाध्यक्षको उम्मेदवार सीता तिवारीले ५ हजार ९५१ मात्र मत ल्याउन सफल भइन् ।

एमाले वडा नम्बर ६ मा मात्र जीत निकाल्न सफल भयो । टेकनाथ गौतमले वडा नम्बर ६ मा जीत निकाले । अघिल्लो स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा निल रहेको नेकपा माओवादी केन्द्रले अहिले माछापुच्छ्रेको वडा नम्बर ७ मा जित निकाल्दै खाता खोल्यो । योबाहेक माछापुच्छ्रेको नेतृत्वसहित७ वडामा जितेर कास्कीमा कांग्रेसले विजय सुरुआत गरेको छ ।

माछापुच्छ्रेमा सत्तारुढ पाँचदलको गठबन्धन पनि थिएन । माओवादीले उपाध्यक्षमा मात्र उम्मेदवारी दिएको थियो भने ८ नम्बर वडामा त एमालेसँग तालमेल गरेको थियो ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष जितेका मीनबहादुर व्यवसायी हुन् । उनी यसअघि कांग्रेस क्षेत्र नम्बर ३ का सभापति थिए भने अहिले माछापुच्छ्रे गाउँपालिका समितिका उपसभापति हुन् । विद्यार्थी राजनीतिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भएकी सीता माछापुच्छ्रेको उपाध्यक्ष जितेकी छन् ।

माछापुच्छ्रेमात्रै होइन, कास्कीमा एमालेको बलियो मानिएकै पालिका पनि गुमाउने जोखिम छ ।

एमालेको बलियो मानिएको मादी गाउँपालिका पनि यसपटक कांग्रेसले जित्ने मत परिणामले पक्काजस्तै देखिएको छ । एमालेले जितेको वडा नम्बर १ र २ मा यसअघि हारेका कांग्रेसका उम्मेदवारले यसपटक जीत हासिल गरेका छन् ।

एमाले कास्की अध्यक्ष तथा सांसद मनबहादुर गुरुङकै वडा मादी-१ मा एमाले बिरासत भत्काउँदै कांग्रेसका देवीजंग गुरुङले १६५ मतान्तरले चुनाव जिते । एमालेबाटै गाउँपालिका अध्यक्ष रहेका वेदबहादुर गुरुङकै वडा मादी-२ मा पनि कांग्रेसका भोजबहादुर गुरुङले जित हासिल गरे । दुबै जना यसअघि एमालेबाटै पराजित भएका थिए ।

मादीको वडा नम्बर ३ मा पनि विकास गुरुङले जित निकाल्दै कांग्रेसको वडालाई सुरक्षित राखेका छन् ।

वडा नम्बर ४ मा भने शिव सापकाटाले चुनाव जितेर एमालेको जितलाई कायमै राख्न सफल भए । अन्य वडाको मत गणना भइरहेको छ । वडा नम्बर ५ मा कांग्रेसका होमनाथ अधिकारीले चुनाव जितेका छन् । मादी गाउँपालिकामा यसअघि अध्यक्षमै पराजित भएका देवीजंग गुरुङले अग्रता कायमै राख्दै आएका छन् । युवा संघका गण्डकी अध्यक्षसमेत रहेका व्यवसायी शिवबहादुर गुरुङ -महेन्द्र) लाई एमालेले बलियो उम्मेदवारका रुपमा उभ्याए पनि कांग्रेसका देवीजंग ५ सयभन्दा बढी मतले अगाडि छन् ।

कास्कीको सबभन्दा सानो गाउँपालिका रुपामा भने यसपटक पनि एमालेले नै जीत निकाल्ने सम्भावना छ । एमालेबाट फेरि अध्यक्षमै उम्मेदवारी दिएका नवराज ओझाले कांग्रेस उम्मेदवार गीमाया गुरुङलाई करिब १ हजार मतान्तरले पछि पारेका छन् ।

वडा नम्बर १ बाहेक सबैमा प्यानलै विजयी हुँदै आएको छ । उपमेयरमा पनि दोस्रो पटक उम्मेदवार बनेकी लालसुब्बा गुरुङले राम्रै मतान्तरले अग्रता कायम गरेकी छन् ।

यसअघि अन्नपूर्ण गाउँपालिकामा चुनाव जितेर युवराज कुँवरले कास्कीमा कांग्रेसको बिउ जोगाएको नेताहरु बताउँथे । तर यसपटक माछापुच्छ्रेमा जितिसकेको कांग्रेसले कास्कीका अन्य पालिकामा पनि नेतृत्व गर्ने संकेत मतपरिणामले देखाएको छ ।

अन्नपूर्ण गाउँपालिकामा चिरपरिचित प्रतिद्व्रन्द्वी यसपटक पनि चुनावी मैदानमा छन् । यसअघि पनि एमालेबाट विष्णु केसी उम्मेदवार थिए भने कांग्रेसबाट कुँवर नै थियो ।

यसअघि २ सय मतान्तरले चुनाव जितेका कुँवरले अहिले करिब १ सय मतले अग्रता लिइरहेका छन् । एमालेले यसपटक अध्यक्षमा जित्ने दाबी र रणनीतिसहित केसीलाई नै टिकट दिएको छ र प्रतिस्पर्धामा पनि निकै ठक्कर परिरहेको छ । अन्नपूर्णमा यो समाचार तयार पार्दासम्म ३ वटा एमाले र २ वटा वडामा कांग्रेसले जितेको छ ।

पोखरामा एमाले बिरासत तोड्ने गठबन्धनको दाउ

कांग्रेसले पोखरामा खाता खोलिसकेको छ । वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसका दिवसमान प्रधानांग विजयी भइसकेको छन् ।

यसअघि ३३ मध्ये ११ वटा वडा जितेको कांग्रेसले यसपटक बढाउने योजनासहित पोखरा नेतृत्वमा एमालेको बिरासत भत्काउने रणनीतिसहित गठबन्धनमा छ । ग एकीकृत समाजवादीका धनराज आचार्यलाई गठबन्धनको तर्फबाट मेयरको टिकट पाउँदा विरोध गरेको कांग्रेस नेता कार्यकर्ताले मत हाल्दा भने गठबन्धनको मर्मअनुसार हालेको प्रारम्भिक मतपरिणामले देखाएको छ ।

गठबन्धनमा कसिलो नबनेको चर्चा पोखरामा भएपनि मेयरका उम्मेदवार आचार्यले सुरुदेखि नै अग्रता कायम गर्दै आएका छन् । गठबन्धनबाट मेयरमा आचार्यले भन्दा उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाटले अग्रता लिएकी छन् । तर जसरी मत नखस्ने र बदर हुने भनिएको थियो, त्यो भने कम देखिएको छ ।

एमालेभित्रको गुटगत राजनीतिले मेयरका उम्मेदवार कृष्ण थापामाथि अन्तरघात भएका नेताहरुले बताइरहेका छन् । कास्कीमा झ्यागिँदै गएको गुटगत राजनीति चुनावमा आत्मघातमै परिणत भएको एमालेका जिल्ला तहका एक नेताले बताए । ‘एमालेभित्रैको एउटा समूह कृष्ण थापालाई हराउन भनेर लाग्यो । गुटको राजनीतिले पोखरामा पार्टीलाई ठूलो धक्का लागेको छ,’ ती नेताले भने, ‘गुटको परिणाम नतिजामा पनि देखिने प्रस्ट हुँदैछ ।’

कास्कीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाइँ छ । सुरुमा पृथ्वीसुब्बा समूहका दीपक पौडेलले टीकट पाएपछि सिक्री चोरको संज्ञा दिँदै भिडियो नै भाइरल बनाउनुमा खगराज समूहकै हात रहेको आरोप समेत अर्को पक्षले लगाउने गरेको छ ।

पौडेलको टिकट खोसिएर खगराज समूहका पूर्व मेयर थापाले टिकट पाएपछि पृथ्वीसुब्बा समूहका केही नेता उनलाई हराउन लागेको अर्को समूहले आरोप लगाउन थालेको छ । एक जना नेताको स्वकिय सचिवले थापालाई हराउनुपर्ने भन्दै अभियान चलाएको अडियोले यतिबेला एमालेभित्र तरंग ल्याइदिएको छ ।

चुनावको मतगणनामा पनि पृथ्वीसुब्बा समूहका नेताहरु सहभागी नभएको भन्दै एमालेभित्र असन्तुष्टि बढ्दै गएको छ । एकातिर एमालेले जुन उत्साहका साथ मत ल्याउँछ भनिएको थियो, त्यो नआउनु र अर्कोतर्फ असन्तुष्टिका स्वरहरु पनि सुनिन थालेपछि एमालेभित्र आत्मघातकै चर्चा हुन थालेको छ । यसको फाइदा पूर्व एमालेकै नेता धनराजले लिएको एक नेताले बताए ।

अहिलेसम्म गणनामा भने चर्को प्रतिस्पर्धा देखिएको छ । धनराजले सोमबार १५ हजार मतान्तरले जित्ने दाबी गरे भने एमालेले पनि कम्तिमा ५ हजार मतान्तरले जित्ने दाबी गरेको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?