
३ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा आज मतदान भइरहेको छ ।
नेकपा एमालेका तर्फबाट वडा नम्बर १७ को वडाध्यक्ष उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि वैशाख ३० गतेका लागि तोकिएको मतदान जेठ ३ गते (मंगलबार) भइरहेको हो । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त वडामा वडाध्यक्ष पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदीप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्यासी बनेका छन् ।
यस वडामा जम्मा ६ हजार १७० मतदाता रहेका छन् । बिहान १० बजेसम्म २१ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
वडाका दुई स्थानमा मतदान भइरहेको छ । जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७५६ र दीपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४१४ मतदाता छन् ।
वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि आजै बेलुकीबाट तुलसीपुर उपमहानगरपालिकाको यसअघि मतदान भएका वडाहरुको मतगणना सुरु हुने निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रतिक्रिया 4