
३ जेठ, पोखरा । मादी गाउँपालिका, कास्कीमा नेपाली कांग्रेसका देवीजंग गुरुङ अध्यक्षमा र नेकपा एमालेकी कल्पना गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार दिउँसो आएको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरुङलाई ९ सय ३० मत अन्तरले हराए । देवीजंगले ६ हजार ५८४ मतसहित पालिका प्रमुखमा जित निकाल्दा शिवबहादुरले ५ हजार ६५० मत पाएका छन् ।
उपाध्यक्षमा भने नेकपा एमालेकी कल्पना गुरुङ विजयी भएकी छन् । अघिल्लो कार्यकालमा वडासदस्य रहेकी गुरुङले यसपटक पालिका उपप्रमुखमा उम्मेदवारी दिएकी थिइन् ।
कल्पना गुरुङले नेकपा माओवादीका लालबहादुर गुरुङलाई पराजित गरेका हुन् । एमालेकी कल्पनाले ५ हजार ८२८ मत पाउँदा माओवादीका लालबहादुरले ५ हजार ६१६ मत पाएका छन् । मादीमा नेकपा माओवादी र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।
मादीका १, २, ३, ५ र ११ नम्बर वडामा नेपाली कांग्रेसले तथा ४, ६, ८ र ९ मा नेकपा एमालेले जितेका छन् । वडा नम्बर ७ र १२ मा नेकपा माओवादी विजय भएको छ ।
योसँगै कास्कीका ४ वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले, माछापुच्छ्रे र मादीमा नेपाली कांग्रेसले पालिका प्रमुखमा जित निकालेको हो । पोखरा महानगरको भने मतगणना भइरहेको छ ।
प्रतिक्रिया 4