
४ जेठ, सल्यान ।फुटका कारण एमाले र एकीकृत समाजवादीका केन्द्रीय नेताले सल्यानमा आफ्नै वडामा पनि पार्टीलाई जिताउन सकेनन् ।
एमालेका पोलिटब्यरो सदस्य गुलावजंग शाह र एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिवसमेत रहेका प्रकाश ज्वालाले आफ्नै वडामा पार्टीको जित निकाल्न नसकेका हुन् ।
ज्वालाको वडा बनगाड कुपिण्डे नगरपालिका-१ मा एकीकृत समाजवादीले हार व्यहोरेको छ । यसअघि एमालेको लालकिल्ला मानिएको वडानम्बर १ मा अहिले नेपाली कांग्रेसले जितेको छ । यहाँ कांग्रेसका थुमबहादुर विसी विजय भएका छन् ।
विसी ६२३ मत ल्याएर विजय भए भने एमालेका दीपबहादुर खड्काले ५५७ र एकीकृत समाजवादीका डम्मबरबहादुर साहुले ४४५ मत ल्याए । यो वडामा माओवादी केन्द्र र एकीकृत समाजवादीको समीकरण बनेको थियो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा यो वडा एमाले एक्लैले जितेको थियो । त्यसबेला एमालेका शान्तकुमार यरी ६५८ मत ल्याएर विजय भएका थिए भने स्वतन्त्र उम्मेदवार दीपबहादुर खर्का ३१२ मत ल्याएर दोस्रोमा थिए ।
एमालेका पोलिटब्युरो सदस्य गुलावजंग शाहले पनि आफ्नो वडामा एमालेको विरासत गुमाएका छन् । शाहको वडा रहेको बनगाड कुपिण्डे नगरपालिका-७ मा एमालेले लज्जास्पद हार व्योहोरेको छ ।
एमालेको गढ मानिएको यो वडामा कांग्रेस, एकीकृत समाजवादी, राप्रपा र माओवादी केन्द्रको तालमेल थियो ।तीन दलको सहयोगमा माओवादी केन्द्रका जीवनसिंह ठकुरीको प्यानलै विजयी भयो । ठकुरीले ६६६ मत ल्याए भने एमालेकाट प्रकाश बस्नेतले ५७१ मत ल्याए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा यो वडा पनि एमालेले जितेको थियो । त्यसबेला एमालेका भोपाल केसी ४७२ मत ल्याएर विजय भएका थिए भने माओवादीका रीमबहादुर बस्नेत ३४९ मत ल्याएर दोस्रो भएका थिए ।
ज्वाला र शाहको एउटै पालिका रहेको बनगाड कुपिण्डेमा एमाले २ वटा वडामा सीमित भयो भने एकीकृत समाजवादीले एउटामात्रै जितेको छ । दुवै नेता केन्द्रीय राजनितमा भए पनि वडामा भने आफ्नो विरासत जोगाउन सकेनन् ।
प्रतिक्रिया 4