
४ जेठ, पाल्पा । पाल्पाको एउटा स्थानीय तहमा स्थगित मतगणना कार्य अझै सुरु हुन सकेको छैन । २ नगरपालिकासहित १० पालिका रहेको पाल्पामा ९ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।
तर रम्भा गाउँपालिकामा शनिबारदेखि मतगणना स्थगित छ । वडा नं. –५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएपछि शनिबार साँझदेखि मतगणना कार्य स्थगित भएको थियो ।
सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणना स्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपछि सफल नभएको जनाएको छ । गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले स्थगित मतगणना सुरु गर्न जिल्लास्तरीय निर्वाचन संयन्त्रसँग छलफल गरिएको बताए । उनले पटक पटकको छलफलपछि पुनः मतगणना गर्ने सहमति भएपनि गठबन्धन दलले असहमति जनाउदै पुनः मतदानको माग राख्दा निष्कर्ष जुटन नसकेको बताए । निर्वाचन आयोगले भने पुनः गणना गर्न निर्देशन दिएको अधिकृत भण्डारीले बताए ।
‘गठबन्धन दलका प्रतिनिधिहरुले पालिका स्तरीय कर्मचारीबाट भएको गणना मान्य हुने छैन भनेको हुँदा बाहिरका कर्मचारी राख्ने तयारी भएको उनी बताउँछन् । उनले भने, ‘तर गठबन्धन दलका प्रतिनिधिबाट भने पुनः मतदानकै माग रहेको छ । हामीले त आयोगले जे भन्छ त्यही गर्ने हो ।’
प्रतिक्रिया 4