
४ जेठ, नवलपरासी । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार उठेका नवलपरासीका २ जना उमेदवारले वडाअध्यक्ष जितेका छन् । चुनाव जित्नेमा रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका–३ मा प्रकाशचन्द्र अधिकारी छन् ।
महिला सदस्यबाहेक स्वतन्त्रको टिम नै बनाएर चुनाव लडेका अधिकारीले प्यानलै जितेका हुन् । सबै उम्मेदवार कांग्रेसका क्रियाशील सदस्य थिए । पार्टीले टिकट नदिएपछि उनीहरु स्वतन्त्रमा उठेका हुन् ।
रामग्राममा चुनाव जितेका यादव यसअघि कांग्रेसबाट वडाध्यक्षमै निर्वाचित भएका थिए । दुवै पालिकामा उनीहरुलाई टिकट दिनुपर्ने दबाब रहेपनि अर्केलाई दिएपछि कार्यकर्ता असन्तुष्ट थिए ।
बर्दघाट नगरपालिकामा चुनाव जितेका अधिकारीलाई शुरुमा टिकट दिएपनि पछि गठबन्धनका नाउँमा टिकट खोसिएको थियो । त्यसपछि उनले पार्टीबाट राजीनामा दिएर टिम बनाएर चुनाव लडेका थिए ।
रामग्राममा यादवले वडाध्यक्ष जित्दा कांग्रेसका उमेदवार चौथो भएका छन् । यादवले माओवादी केन्द्रका उमेदवार देवनारायण पाण्डेलाई ३ सय ११ मत अन्तरले पराजित गरेका हुन् ।
बर्दघाटमा अधिकारीले जित्दा टिकट खोसेर दिएका गठबन्धनका उम्मेदवार भने तेस्रो भएका छन् । अधिकारीले एमालेका उमेदवार जीवनबहादुर थारुलाई १ सय ३१ मतले पराजित गरेका हुन् ।
प्रतिक्रिया 4