
६ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।
अहिलेसम्मको परिणामलाई हेर्दा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी सबैभन्दा फराकिलो मत अन्तरका साथ निर्वाचित भएकी छन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेकी रञ्जना खर्बुजाले भन्दा २६ हजार ९११ मत बढी पाइन् ।
त्यसैगरी भक्तपुरकै मेयर सुनिल प्रजापतिले निकटतम प्रतिस्पर्धी रामप्रसाद कासुलाले भन्दा २५ हजार ८४८ मत बढी ल्याए । फराकिलो मतान्तरले निर्वाचित दुवैजना नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हुन् ।
केही ठूला महानगरपालिकाको नतिजा सार्वजनिक हुन बाँकी भएकाले यो रेकर्ड तोडिन पनि सक्छ ।
यसैगरी सर्लाहीको मलंगवा, मुस्ताङको घरपझोङ, तनहुँको बन्दीपुर र ताप्लेजुङको सिदिङवामा १० भन्दा कम मतको अन्तरमा जनप्रतिनिधिहरु निर्वाचित भए ।
ताप्लेजुङको सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारी कडरियाले प्रतिस्पर्धीले भन्दा एक मत बढी पाइन् । बन्दीपुरकी उपाध्यक्ष पञ्चमाया गुरुङ र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा २/२ मत बढी पाएर निर्वाचित भए । मलंगवाकी उपप्रमुख शकुन्तला देवी साहले प्रतिस्पर्धीको तुलनामा चार मत बढी पाइन् ।
कम र बढी उमेरका जनप्रतिनिधि
पर्साको कालिकामाई गाउँपालिकाका वशिष्ट कुमार सबैभन्दा कम उमेरका अध्यक्ष हुन् । जनता समाजवादी नेपालबाट निर्वाचित उनी २१ वर्षका छन् ।
त्यसैगरी सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेली सबैभन्दा पाका अध्यक्ष हुन् । कांग्रेसबाट निर्वाचित उनी ८० वर्षका छन् ।
सर्लाहीकै धनकौल गाउँपालिकाको अध्यक्षमा ७८ वर्षीय रामआश्रय साह निर्वाचित भएका छन् ।
झापाको हल्दीवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ७७ वर्षकी छन् ।
प्रतिक्रिया 4