
६ जेठ, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् ।
यादवले १ हजार ८ सय ३१ मतको फराकिलो अन्तरले जनता समाजवादी पार्टीका प्रदीप जयसवाललाई पराजित गरेका हुन् । यादवले ६ हजार ६४१ मत पाउँदा जयसवालले ४ हजार ८१० मत ल्याए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जयसवाल अध्यक्षमा निर्वाचित भएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दिएका यादव भने चौथाे भएका थिए ।
उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन् । नेकपा एमालेकी फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएकी हुन् । बिष्टले ४ हजार ४६८ मत ल्याएकी छिन् भने थरुनीले ४ हजार २५६ मत पाएकी छिन् । २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव लडेकी थरुनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
वडा नम्बर १ मा नेकपा एमालेका बासुदेव महतो थारु (१२१५), २ मा जसपाका चिरञ्जीवीप्रसाद महतो थारु (७१०), ३ मा नेपाली कांग्रेसका मोजमिल अंसारी (७१२), ४ मा एमालेका महम्मद आरिफ अन्सारी (८०४), ५ मा कांग्रेसका असेशरप्रसाद यादव (११८२) र ६ मा जसपाका मुन्ना प्रसाद राउत कम्कर विजयी भएका छन् ।
प्रतिक्रिया 4