
६ जेठ, काठमाडौं । धवलशम्शेर राणाले फेरि मेयर नलड्ने घोषणा गर्दै गदौ राप्रपाका नेताहरुलाई लागेको थियो, नेपालगञ्ज उपमहानगरपालिका गुम्न सक्छ । ३० वैशाखमा खसेको मतको गणना शुक्रबार विहान सकियो, नेपाली कांग्रेसका प्रशान्त विष्ट २३ हजार ४६० मतका साथ मेयरमा निर्वाचित भएका छन् ।
राणा २०५४ र २०७४ को दुबै चुनावमा नेपालगञ्जको मेयर चुनिएका थिए । त्यो विरासत राप्रपाले जोगाउन सकेन । यो पटक राप्रपाका मेयरका उम्मेदवार नन्दलाल वैश्य तेस्रो भए । उनले प्रशान्तले पाएको भन्दा एक तिहाइ मात्र मत पाए ।
राप्रपाका नेताहरु नेपालगञ्जमा व्यहोरेको हारको कारण सत्तारुढ दलहरुको गठबन्धन मान्छन् । पूर्व मेयर एवं राप्रपाका महामन्त्री राणा पनि गठबन्धन भएकाले प्रमुख जित्न नसके पनि तीनवटा वडाध्यक्ष जितेको र मत पनि राम्र्रै आएको बताउँछन् । भन्छन्, ‘गठबन्धनसँग लडेका कारणले प्रमुख पद जित्न सकिएन, तर भोट राम्रै आएको छ । हामीले तीनवटा वडा जितेका छौं ।’
तर वैश्यको हारको कारण गठबन्धन मात्र भने होइन । राणाले लामो समय नेपालगञ्ज उपमहानगरको नेतृत्व गर्दा राप्रपाको संगठन पनि बलियो बन्न सकेको छैन । २०७४ कै चुनाव पनि उनले आफ्नो व्यक्तिगत भोटका कारण जितेका थिए ।
पार्टीभन्दा बलिया थिए राणा
अघिल्लो चुनावमा राणा १२ हजार ५१५ मतका साथ मेयर चुनिएका थिए । तर राप्रपाले सबै वडामा पाएको मत सात हजार ६९५ मात्रै थियो । पार्टीको मत भन्दा झण्डै दोब्बर मत राणाले ल्याउनुका पछाडि उनको व्यक्तिगत लोकप्रियता थियो ।
यस पटक राप्रपाले केही भोट बढाएको छ । २३ वडाको वडाध्यक्षका उम्मेदवारले पाएको कुल मत आठ हजार ४७७ छ । मेयरका उम्मेदवारले भने त्यही भोट पाउन सकेको देखिएन । उद्योग वाणिज्य संघ, बाँकेका पूर्व अध्यक्ष समेत रहेका वैश्य उम्मेदवारी दर्ताको अघिल्लो दिन मात्र माओवादीबाट राप्रपा प्रवेश गरेका थिए ।
वैश्य समुदायको संगठित भोट पाउने आशमा राप्रपाले उनलाई मेयरको टिकट दिएको थियो । तर त्यसअनुसार मत नआएको नेताहरु बताउँछन् ।
पशुपति दयालले पनि सकेनन्
राप्रपाका धवलले मैदान छाडेपछि यो पटक कांग्रेस, एमाले र माओवादी नेपालगञ्जको नेतृत्व लिने दौडमा थिए । एमालेले अघिल्लो पटक सूयै चिह्नबाट प्रतिनिधिसभा सदस्य चुनाव लडेका पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएको थियो ।
मिश्रलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओली आफैं नेपालगञ्ज पुगेका थिए । कांग्रेस र माओवादी केन्द्रले भने गठबन्धन गरे । सत्तारुढ दलबीच भएको भागवण्डामा कांग्रेसले मेयर लियो भने जनता समाजवादी पार्टी (जसपा) ले उपमेयर लियो ।
गठबन्धनको उम्मेदवार बनेका कांग्रेसका प्रशान्त विष्ट मेयर र जसपाका कमरुद्दिन राई उपमेयरमा निर्वाचित भए । विष्टका निकटतम प्रतिस्पर्धी पशुपति दयाल रहे । विष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए ।
उपप्रमुखमा पनि राईले १७ हजार ९५० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेकी शान्तिदेवी ढकाल बनिन् । उनले १० हजार ९१५ मत प्राप्त गरिन् ।
तेस्रो बनेका राप्रपाका वैश्यले ७ हजार ५९८ मत मात्रै ल्याए । राप्रपाबाट उपप्रमुखकी उम्मेदवार बनेकी बिन्दु चर्चि मगरले १० हजार १३५ मत प्राप्त गरिन् ।
चुनाव विष्टले जिते, इस्तियाकलाई फाइदा
नेपालगञ्ज उपमहानगरपालिकाको निर्वाचनलाई धेरैले राप्रपाका राणा र जनता समाजवादी पार्टीका सांसद मोहमद इस्तियाक राईबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकासमेत पर्ने बाँके क्षेत्र नम्बर २ बाट यी दुई नेता प्रतिस्पर्धामा उत्रिने सम्भावना छ ।
राप्रपाका राणाले मेयरमा दोहोरिन नचाहनुको कारण आगामी संघीय चुनावमा प्रतिस्पर्धा गर्नका लागि भएको धेरैले अनुमान गरेका छन् । अघिल्लो पटक उपमहानगर प्रमुख जित्दा राणा राप्रपाको ‘लो प्रोफाइल’ को नेता थिए । तर, गत मंसिरमा भएको राप्रपाको निर्वाचनमा उनी महामन्त्रीमा निर्वाचित भए ।
त्यसयता उनी राष्ट्रिय राजनीति र राप्रपाको केन्द्रीय भूमिकामै बढी केन्द्रित भएका छन् । र, संघीय चुनावको तयारी गरिरहेको देखिन्छ । आजको परिणामपछि उनले अनलाइनखबरसँग त्यही संकेत गरे । ‘स्थानीय चुनावको अध्याय अब सिद्धियो’, उनले भने, ‘हामी अर्को अध्यायतिर गइसक्यौं । अब राष्ट्रिय निर्वाचन र राष्ट्रिय आन्दोलनतिर हामी लम्किएका छौं ।’
जसपाका नेता मोहम्मद इस्तियाक इस्तियाक राई त हाल प्रतिनिधिसभा सदस्य नै हुन् । उनीसँग राप्रपाका राणाले प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्ने सम्भावना छ ।
राईले उपमहानगरपालिकामा आफ्नो पार्टीको तर्फबाट उपमेयर र चार वडाध्यक्ष जिताएर नगर कार्यपालिकामा प्रभुत्व जमाएसँगै एक हिसाबले बाजी मारिसकेको नेपाली कांग्रेसका पूर्व सभापति सनतकुमार रेग्मी बताउँछन् ।
‘धवलजी र इस्तियाकजीले आफ्नो शक्ति कति छ भन्ने परीक्षण यो चुनावमा गर्नुभयो,’ उनले अनलाइनखबरसँग भने, ‘राप्रपाले यसपालि मेयर पनि हार्यो । तीनवटा वडा मात्रै जित्यो । इस्तियाकजीले उपमेयर र ४ वडाध्यक्ष जिताउनुभयो । उहाँको निर्वाचन क्षेत्रका अन्य पालिकामा पनि उहाँले फाट्टफुट प्रतिनिधि जिताउनुभएको छ । यसले उहाँलाई सहज बनाएको छ ।’
सत्तारुढ गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीले अन्तिमसम्म नेपालगञ्जको मेयरको उम्मेदवार आफूले पाउनुपर्ने अडान राख्यो । यही कारण गठबन्धनको बैठक एक दिन लम्बिएको थियो ।
जसपाले नेपालगञ्जलाई यति महत्व दिनुमा नेता इस्तियाक राईको क्षेत्र हुनु मुख्य कारण हो । तर, गठबन्धनका कारण मेयर नेपाली कांग्रेसले लिएपछि राईले उपमेयरमा भने आफ्नै विश्वास पात्र कमरुद्दिन राईलाई उम्मेदवार बनाए र जिताए ।
महानगरका २३ मध्ये चार वटा वडाध्यक्ष समेत जितेकाले मेयर कांग्रेसले जिते पनि पहिलोपटक जिम्मेवारी सम्हाल्न गइरहेका विष्टमाथि इस्तियाक हावी हुने र उपमहानगरमा प्रभुत्व जमाउने कांग्रेसकै नेताहरुले ठानेका छन् ।
विष्टले पनि आफू अल्पमतमा रहेकाले उपमेयर र चार वडाध्यक्ष जितेको जसपा र चारवटा नै वडाध्यक्ष जितेको माओवादी केन्द्रका नेताहरुलाई विश्वासमा नै लिएर काम गर्नुपर्ने छ ।
‘कांग्रेसले धेरै प्रयासपछि उपमहानगरको नेतृत्व त पायो तर चुनौती छ’, कांग्रेस नेता रेग्मी भन्छन्, ‘कार्यपालिका कांग्रेसको थोरै र अरु पार्टीको धेरै हुने देखियो । पहिलोपटक मेयर भएको मान्छेलाई अल्पमतको सरकार कति गाह्रो हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।’
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये जनता समाजवादी पार्टीले ६, नेपाली कांग्रेस र नेकपा एमालेले ५-५, नेकपा माओवादी केन्द्रले ४ र राप्रपाले ३ वटा वडाध्यक्ष जितेको छ ।
प्रतिक्रिया 4