
सेन्टअप परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण बसन्तेले एसएलसीमा विशिष्ट श्रेणीको अपेक्षा गर्नु स्वाभाविक नै थियो। तर, त्यही अनुसारको तयारी र कर्म भने पटक्कै थिएन उसको । खालि आफ्नो शत्रु किस्नेको कुरा काटेर बस्थ्यो । पढाइ–लेखाइ भन्दा किस्नेको चियोचर्चो, निन्दा र तरह–तरहका गाली गरेर समय बिताउँथ्यो।
जति परीक्षा नजिकिन्थ्यो, उति किस्नेलाई कसरी फेल पार्ने भनेर अनेक–अनेक खुराफाती आइडियाहरूको विकास गर्थ्यो। तिकडम लगाउँथ्यो।
खुलेआमै भन्थ्यो- ‘आगामी एसएलसी परीक्षामा यो किस्नेलाई फेल पार्नैपर्छ।’ यति भनिसकेपछि मुख कुल्ला गर्थ्यो। किस्नेको नाम उच्चारण गरेपछि उसले मुख कुल्ला गर्ने नियम बनाएको हुनाले यसो गरेको थियो । सेन्टअपमा प्रथम श्रेणीमा उत्तीर्ण आफू त यसपटक विशिष्ट श्रेणी भेटिहाल्छु भनेर मनमनै मख्ख पर्थ्यो।
दुवैले जाँच दिए। रिजल्ट आयो। बसन्तेको विशिष्ट श्रेणी त कता हो कता, प्रथम श्रेणी पनि भेटेन । द्वितीय श्रेणी पनि टेक्यो मात्रै ।
तर अचम्म! ऊ दु:खी थिएन। बेपत्तै खुसी थियो । किनभने पढ्नमा भुसकोल उसको परम दुस्मन किस्नेको थर्ड डिभिजन आएको थियो।
कसैले उसलाई सोध्थे- ‘डिष्टिङ्शन ल्याउनुपर्ने भाइले ! कसरी यस्तो रिजल्ट आयो ?’
ऊ सहजै जवाफ फर्काउँथ्यो-‘डिष्टिङ्शन नआएर के भो त ! पढाइ त मेरो अब्बल नै छ। सबैभन्दा ट्यालेन्ट पनि म नै हुँ। नम्बर पनि मेरै सबैभन्दा धेरै छ।’
ऊ अरूलाई बेवकुफ बनाइराछु भनेर मख्ख पर्थ्यो ।
‘खुब मसँग जोरी खोज्थ्यो त्यो साले किस्ने! जाबो थर्ड डिभिजन ल्यायो। फेलै हुनुपर्ने पाजी धन्न त्यही भए नि ल्याएछ। त्यसको त भविष्य नै छैन। त्यो सकियो अब ।’ यसो भन्दै आफूलाई किस्नेसँग तुलना गरेर आत्मरतिको बाटोमा लीन भयो।
यसरी आत्मरतिमा रमाउँदा रमाउँदै, दुनियाँलाई बेवकुफ बनाउँदा बनाउँदै बसन्तेको जिन्दगी शून्यमा विलीन भयो।
प्रतिक्रिया 4