
७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन मूलभूत रुपमा सफल भएको बताएका छन् ।
भक्तपुरको मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिलाई शनिबार आफ्नै निवासम बधाई दिँदै उनले गठबन्धनमार्फत देशको राजनीतिमा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको र यसमा मूलभूत रुपमा सफल भएको बताएका हुन् ।
प्रचण्डले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जान गठबन्धनमा रहेका दलहरु दृढ रहेको बताए ।
उनले स्थानीय तह निर्वाचनमा भएको विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले मध्यपुर थिमी भक्तपुरको ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने बताए ।
मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको भनाइ छ । ‘त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईंहरु आउनुभएको छ’, अध्यक्ष प्रचण्डले भने ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा निर्वाचित भएका छन् ।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4