
८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र बिग्रेको नभई सजग हुनुपर्ने अवस्थामा रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजित इन्धन तथा खाद्य समस्या र यसबाट पर्न सक्ने अर्थतन्त्रको प्रभाव विषयक छलफल कार्यक्रममा बोल्दै अधिकारीले पुस यता सरकार र नेपाल राष्ट्र बैंकले लिएका नीतिको प्रभाव नतिजामा देखिन थालेको समेत बताए ।
पुससम्म कोभिड-१९ बाट थला परेका क्षेत्रलाई माथि उकास्न सहुलियत दिइएको भन्दै उनले त्यसपछि भने नीतिगत रुपमा कडाइ थालिएको बताए । जसका कारण आयातको वृद्धिदर पुसपछि क्रमशः घट्न थालेको उनले उल्लेख गरे ।
आयात बढ्नुमा कोभिड-१९ पछि नेपालको अर्थतन्त्र छिट्टै सामान्य अवस्थामा फर्किएको संकेत भएको भन्दै उनले यसलाई पनि सकारात्मक रुपमा लिनुपर्ने बताए । शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा चाप पर्न थालेपछि सरकारले वस्तु आयातमा कडाइ थालेको थियो । ‘हाम्रो उद्देश्य समग्र अर्थतन्त्र दीगो हुनुपर्यो, स्थायित्व रहनु पर्यो भन्ने नै हो,’ उनले भने, ‘व्यवसाय गर्नेले व्यवसाय गर्न पाउँछन्, तर संकट आउनु भन्दा केही अगाडि नै सजग बनौं भन्ने नीति हाम्रो हो ।’
अर्थतन्त्रको सुधारमा आम सर्वसाधारण, उद्योगी–व्यवसायीदेखि सबैले साथ दिनुपर्ने उनको भनाइ छ । करका दर बढाएर उपभोग कम नभएको भन्दै उनले यसमा उपभोक्ता समेत सचेत हुनुपर्ने बताए । ‘महंगीको असर उपभोक्तामा पर्छ, हामीले उपभोग घटाउनु पर्यो भने दर बढाउने गर्छौं, उनले भने, ‘ त्यसले पनि काम गरिरहेको देखिंदैन, जतिसुकै परोस्, हामी किन्न तयार छौं, हामी त्यो लेबलको उपभोक्ता भइरहेका छौं ।’
एक फरक प्रसंगमा उनले ब्याजदर बढ्दैमा बैंकमा डिपोजिट नआउने उनले बताए । आन्तरिक ऋण परिचालनले समेत तरलतामा समस्या नआउने भन्दै उनले व्यापार घाटामा सुधार नआएसम्म तरलताको अभाव रहिरहने उल्लेख गरे । खासगरी बैंकबाट गएको तरलता वस्तु खरीदका लागि विदेशिएपछि मुलुकमा समस्या बढ्ने गरेको उनको भनाइ छ ।
‘मुलुक भित्र लगाएको भएको पैसा जहाँ भएपनि सिस्टममा आइहाल्छ,’ उनले भने, ‘जब ठूलो रकम बाहिर जान्छ, सीमा कट्छ । यहाँ खोजेर पाइँदैन, तरलता विदेशिन्छ, त्यसपछि समस्या सिर्जना हुन्छ ।’
रेमिट्यान्सले आयातको ४० प्रतिशत मात्र धान्ने, सेवा र ट्रान्सफरले बाँकी आयात समेत नधान्दा बाह्य क्षेत्र चापमा परेको उनको भनाइ छ । यसको समाधानमा सबैको भूमिका रहने समेत उनले बताए ।
प्रतिक्रिया 4