
८ जेठ, काठमाडौं । वरिष्ठ अर्थशास्त्री एवम् लेखक स्वर्णिम वाग्लेको पुस्तक अतृप्त अवसर सार्वजनिक गरिएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आइतबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक लोकार्पण गरिएको हो । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् गगन थापा, राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झा र लेखक वाग्लेले पुस्तक लोकार्पण गरे ।
पुस्तक लोकार्पणसँगै आयोजित समसामयिक अर्थ–राजनीतिक विमर्शका क्रममा नेता गगन थापाले भने वाग्लेको यो पुस्तक नेपालको अर्थ–सामाजिक विषयमा रुचि राख्नेहरूका लागि बढी उपयोगी रहेको बताए ।
‘पुस्तक सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीमा आधारित छ । नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे पुस्तकमा अभिव्यक्त विचारले हाम्रो समाज र आगामी सरकारहरूलाई दिशानिर्देश गर्नेछन्,’ उनले भने, ‘तथ्यसङ्गत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु ।’
२०७४ देखि २०७८ सम्मको कालखण्डको अर्थ–राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी रहेको थापाको भनाइ छ ।
योजना आयोगकी पूर्व सदस्य झाले अल्पकालीन सरकारका कारण विकासमा हुने गरेका अवरोध चिर्न दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् । अतृप्त अवसर पुस्तकले पनि यही किसिमको विचार अभिव्यक्त गरेको उनको भनाइ छ ।
‘हामीकहाँ विशेषगरी मेरो सरकार भन्ने परिपाटी छ । छोटो अवधिमा आउने सरकारले भने जस्तो एकै पटक विकास गर्न सक्दैन,’ उनले भनिन्, ‘त्यसैले एउटा सिस्टम बसालेर राजनीतिक दलहरुलाई त्यसको फेसिलेटरका रुपमा अघि बढाउँदा बढी उपयोगी हुन सक्छ । विकास पनि राम्ररी हुन सक्छ ।’
लेखक वाग्लेले नेपालको इतिहासमा जुद्धशमशेरपछि अपूर्व अवसरकासाथ केपी ओली नेतृत्वको सरकार आएको उल्लेख गर्दै यस्तो अवस्थामा पनि सोचेअनुसार गर्न नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।
ओली नेतृत्वको सरकारका अवसर र उनका समयमा गर्न सकिने तर नगरिएका विषयलाई आफूले पुस्तकमा समेटेको लेखक वाग्लेको भनाइ छ । साथै नेपालको विकासका लागि अपनाउन सकिने विकासको मोडल र पद्धतिका विषयलाई पनि आफूले पुस्तकमा समेटेको वाग्लेले बताए ।
प्रतिक्रिया 4