
८ जेठ, पोखरा । नेकपा एमालेका मेयर उम्मेदवार कृष्ण थापाको वडा नम्बर-१६ मा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना निर्वाचित भएका हुन् ।
तिमिल्सिनाले नेकपा एमालेका प्रत्याशी राजेश गुरूङ ‘राजु’लाई १४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३१८ मत पाउँदा गुरूङले ३ हजार १७० मत पाएका छन् । वडाका सदस्य पदमा भने नेकपा एमालेले जितेको छ । उक्त वडामा ७ हजार ५१९ खसेको थियो ।
हालसम्म पोखरामा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, २०, २३, २४, २५, २६, २७, २८, २९ र ३० वडाको नतिजा आएको छ । जसमध्ये नेकपा एमालेले ७ वटा र कांग्रेसले १७ वटा वडा जितेको छ । अहिले बाँकी रहेका ९ वटा वडाको गणना भइरहेको छ ।
मेयरमा भने थापालाई बढी मत
मुख्य निर्वाचन आयोगले सार्वजनिक गरेको सूचना अनुसार उक्त वडामा वडाध्यक्षमा नेपाली कांग्रेसले हात पारे पनि मेयरमा भने नेकपा एमालेका कृष्ण थापाले सबैभन्दा बढी मत पाएका छन् ।
प्रमुख पदमा थापाले ३ हजार ४४६ मत पाउँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ४९२ मत पाएका छन् । उनीहरुबीच ९५४ मतको फरक छ ।
हालसम्म पोखरा महानगरको १ लाख ८ हजार ८६१ मत गणना भएको छ । उक्त मत परिणामअनुसार ५ दलीय सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अगाडि छन् ।
आचार्यले ४३ हजार ५६५ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले ४० हजार १२३ मत पाएका छन् । आचार्य ३ हजार ४४२ मतले अग्रता लिइरहेका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकै अग्रता छ । एमालेबाट उम्मेदवार बनेकी मञ्जुदेवी गुरुङले ४५ हजार ६४९ मत पाएकी छन् भने उनका निकटम् प्रतिस्पर्धी कोपिला रानाभाटले ४३ हजार ६५४ मत पाएकी छन् । उनीहरुबीच १ हजार ९९५ मतान्तर छ ।
प्रतिक्रिया 4