+
+

संगीतकर्मीले सम्झिए गुरूदेव कामत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते १०:२४

२६ साउन, काठमाडौं । दिवङ्गत भएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई संगीतकर्मी तथा उनका शिष्यहरूले स्मरण गरेका छन् । शनिबार जमलस्थित राष्ट्रिय नाँचघरमा गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उनको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्‍याएको योगदानको चर्चा गर्दै संगीतकर्मीले सम्झिएका हुन्।

कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलो पटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै गीतसङ्गीत सदैव अमर रहने बताए। उनले भने, ‘उहाँ निकै सरल र मिलनसार स्वभावको हुनुहुन्थ्यो। आफ्ना पीडा लुकाएर पनि बाँच्ने मान्छे। उहाँका शिष्यले नै अब सङ्गीतमार्फत अमर बनाउनुपर्छ।उहाँ अमर श्रष्ठा हुनुहुन्छ । उहाँका कालजयी सृजनाहरू सधैं अमर अजर रहनेछन्। ‘

कलाकार श्रेष्ठले गायक कामतको गीतसङ्गीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुने बताए। उनले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन गीतसङ्गीतलाई हेर्न गठित संस्थाले सतर्कता अपनाउनुपर्ने बताए।

गायक कामतसँग निकट गायक तथा कलाकार मुरलीधरले आफूले भाइ गुमाएको बताए। ‘मैले र गायक गुरूदेव भाइलाई गुमाएको छु जस्तो अनुभूति भइरहेको छ। म भाव विह्वल छु। के बोलौ भइरहेको छ। कामतले सँगै धेरै काम गरेका छौँ। नाटकदेखि गायनसम्म हामीले सहकार्य गर्यौँ,’ उनले भने।

उनले गायक कामतको सम्झना दुई गीत गुनगुनाए। ‘उहाँले मलाई चलचित्रमा गीत गाउन दिनु भन्नुभएको थियो। तर, ती सब निर्माता र निर्देशकले तय गर्ने भएपछि मैले त्यो अवसर दिन सकिनँ। उहाँको त्यो गुनासो सम्झिरहेको छु, अब उहाँको कामलाई सङ्ग्रहित गर्नुपर्ने दायित्व शिष्य र फाउण्डेसनमा आएको छ,’ मुरलीधरले भने।

सङ्गीतकार राजु सिंहले गायक कामत सङ्गीतको अनुसाशित साधक रहेको बताए। ‘गीतसङ्गीतमा साधना गर्ने एउटा अनुशासन हुन्छ। उहाँ त्यो कायम गरेर साधना गर्नुहुन्थ्यो। हामीले उहाँको सपनालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ। यसका लागि हामीले धेरै कार्य गर्नु छ,’ उनले भने।

उनले सङ्गीतको बीमा हुनुपर्ने, गायक कामतको सालिक बन्नुपर्नेलगायत विषयमा चर्चा गरे। गायक कामतको शिष्य रहेकी गायिका शर्मिला बर्देवाले डायलाइसिसको समयमा अन्तिमपटक कुराकानी गरेको स्मरण गरिन्।

उनले भनिन्, ‘उहाँसँग थोरै बोल्न पाएँ, त्यही अन्तिम संवाद भयो। मैले उहाँसँग विसं २०२५ देखि २०४८ सम्म सङ्गीत सिकेकी थिएँ। त्यही क्रममा मलाई चलचित्रमा गाउने अवसर आएको थियो। उहाँले शास्त्रीय सङ्गीतलाई नछाडी अन्यलाई अँगाल्नु भन्नुभएको थियो। तर, विविध कारणले मैले शास्त्रीय सङ्गीतलाई निरन्तरता दिन सकिनँ, यसमा दुःख लागेको छ।’

कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष प्रभातसगार सिंह प्रधानले एउटा सर्जक उपचार गर्न नसकेर काठमाडौँ छाडेर गाउँ फर्कनु पीडादायक रहेको बताए।

‘बिरामीहरु काठमाडौँ उपचार गराउन आएको सुनेको छु, तर गायक कामत गाउँ फर्किनुभयो। यहाँ उपचारमा आर्थिक सङ्कट भएपछि गाउँमै केही होला भनेर फर्किनुभएको हो। हामीले पनि उपचारका लागि आर्थिक पहल गरिरहेका थियौँ, तर उहाँले छिट्टै छाडेर जानुभयो,’ अध्यक्ष प्रधानले भने।

त्यस अवसरमा साहित्यकार मुकुन्द पौडेलले गायक कामतको जीवनी सुनाएका थिए। यस्तै, उनका शिष्य भीम मगरसहितको समूहले गायक कामतको स्वर र सङ्गीत रहेको ‘कुन पापीले कुन निष्ठुरीले’ गीतमार्फत श्रद्धाञ्जली दिएका थिए।

यही साउन १७ गते दिवङ्गत भएका गायक कामतको १०औँ दिनमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?