+
+
सन्दर्भः हनुमाननगर जेल काण्ड :

रामराजाप्रसाद सिंह र गणतन्त्र नेपाल

अजयकुमार झा अजयकुमार झा
२०७९ जेठ ९ गते १५:३९

भारतमा स–साना रियासतहरूमाथि बेलायती शासनले आफ्नो हुकुमत विस्तार गरिरहँदा उत्तरी हिमाली भूभागमा पनि बाईसे र चौबीसे भनिने स–साना राज्य थिए । ती राज्य बाईसे वा चौबीसेको रूपमा संगठित देखिए पनि उनीहरू आपसमा कतै मित्रभाव त कतै शत्रुभाव राख्दथे र परिस्थिति परे परस्परमा युद्धमै पनि होमिन्थे ।

प्रकृतिले नै सिर्जिदिएको हिमाल, महाभारत, चुरिया पर्वत शृंखला, डाँडा, पाखा, खोंच, नदी–नाला आदिले गर्दा भौगोलिक रूपमा नै खण्डित हुँदा अनेक राज्य निर्माण हुनु अस्वाभाविक थिएन । भारत वर्षको इतिहासमा पटक-पटक साम्राज्यहरूको उदय र अस्त भए पनि ती साम्राज्यहरूले यस हिमाली भूभागलाई एकसूत्रमा बाँध्न सकेको थिएन ।

ती पार्वत्य राज्यहरूमा उत्तर र दक्षिणबाट आएका राजपूत, गहलोत, सिजापति, चितौरिया, राठौर, सोमवंशी, मलय, ठाकुर (ठकुरी), कत्पुरी, समाल, रास्कोटी, शाही, चम्पावत, सिसौटिया, स्याङसुङ, मगर आदि वंशका आक्रमणकारीहरूले शासन स्थापित गरी राज्य गर्ने गरे । तर पनि ती राजवंशहरूमध्ये त्यस्तो कुनै शासकको जन्म हुनसकेन, जसले बाईसे चौबीसे राज्यलाई एकीकृत गरोस् । पर्वतीय शृंखलामुनिका तराईमा पनि कर्णाली, गण्डकी, कोशी नदीको वरिपरि त्यस्तै स–साना राज्य थिए, जसमा बंगालबाट आएका सेनवंशी शासकहरूको राज्य थियो ।

गण्डकी किनारको एक चौबीसे राज्य थियो, गोरखा । त्यहाँ सिसौटिया वंशका द्रव्य शाहले विक्रम संवत् १६१६ मा आफ्नो शासन कायम गरेका थिए । त्यस वंशमा राजा नरभूपाल शाहको पुत्रको रूपमा वि.सं. १७७९ मा पृथ्वीनारायण शाहको जन्म भयो । राजा नरभूपाल शाहको निधनसँगै उनी २० वर्षको उमेरमा गोरखाका राजा भए ।

पृथ्वीनारायण आफ्नो वंशका ओजस्वी राजा भए । उनी सानैदेखि महत्वाकांक्षी, साहसी, मेधावी व्यक्ति थिए । बुवा नरभूपाल शाहले आफ्नो गोरखा राज्य विस्तार गर्न गरेका प्रयास र युद्धहरूलाई उनले गम्भीरपूर्वक हेर्दै आएका थिए । राजा भएलगत्तै गोरखा राज्य विस्तारको कार्यमा उनी लागिहाले ।

आफ्नो शासनकालको ३२ वर्षसम्म उनी राज्य विस्तारको कार्यमा मात्र लागिरहे । उनले गोरखादेखि पूर्वका चौदण्डीसम्मको भूभागलाई आफ्नो शासनको अधीन ल्याइसके । तर गंगा नदीवारिका सम्पूर्ण भूभागमाथि आधिपत्य जमाउने उनको सपना उनको असमय निधनको कारणले पूरा हुन सकेन ।

पृथ्वीनारायण शाहको निधनपछि जेठा छोरा प्रतापसिंह शाहले राज्य सम्हाले भने कान्छा छोरा बहादुर शाहले पिता पृथ्वीनारायण शाहको सपना पूरा गर्ने संकल्प लिए । कालान्तरमा गोरखा राज्यको सीमा पूर्वमा टिष्टादेखि पश्चिममा सतलज नदीको पारि काँगडासम्म पुग्यो । तर उत्तरमा हिमालय र दक्षिणमा बेलायती साम्राज्यको उपस्थितिका कारण राज्य फैलिन सकेन । तथापि एक समय गोरखा राज्यको सीमा गंगा नदीलाई छुन खोजेको अवस्था भए पनि पछि पार्वत्य क्षेत्रमै सीमित हुनुपर्‍यो ।

प्रकारान्तरमा नेपालका सीमाहरू नेपाल–अंग्रेज तीता–मीठा सम्बन्ध र व्यवहारका कारण सर्दैसर्दै सन् १८६० मा नयाँ मुलुक भनी चार जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गाभिएयता स्थिर रहँदै आएको छ । पृथ्वीनारायणले गोरखा राज्यको विस्तारमा लाग्दै गर्दा काठमाडौं उपत्यकाको अधिपति हुने सपना पनि हेर्दै गरेका थिए । काठमाडौं उपत्यकाभित्र त्यतिबेला तीनवटा छुट्टाछुट्टै राज्य थिए ।

अहिलेको काठमाडौं त्यतिखेर कान्तिपुर, पाटन र भादगाउँ नामले चिनिन्थ्यो । ती तीनवटै शहर (राज्य) र वरपरका क्षेत्रसहितको भूभाग नेपालमण्डल भनिन्थे । नेपालमण्डलको समृद्धिले पृथ्वीनारायण शाहलाई लोभ्याइरहेको थियो र उनी त्यहाँको राजा हुन चाहिरहन्थे ।

अजयकुमार झा

जीवनको अन्तिम समयमा आफ्ना भारदारलाई सम्बोधन गर्दै भनेका थिए- ‘नेपाले राजाले चिन्नन् र पक्रनन् भनी स्याँखु ओढी राप्तीका तीरैतीर भानु जैसी अरू थरघर पनि साथैमा थिए, चन्द्रगिरिमा आइपुगेपछि नेपाल कुन हो भनी सुध्याएँ र त्यो भादगाउँ हो, त्यो पाटन हो, त्यो काठमाडौं हो भनी देखाए । मेरो मनमा यी तीनै शहरको राजा हुन पाए त हुँदो हो भन्ने यस्तो परिरहेको थियो । उसै बेलामा जैसीले हजुरको मनोकांक्षा अभिलाषा पुग्ला महाराज भने ।

मलाई आश्चर्य लाग्यो र मेरो पेटका कुरा कसो गरी जान्यौ र त्यसो भन्यौ भनी मैले भन्दा जसै नेपालमा नजर दिनुभएथ्यो, उसैबेला मोचमा बाहुली दिंदा मनमा नेपालको राजा हुन पाए त हुँदो हो भन्ने जस्तो परेछ भनी हजुरमा बिन्ती गरेको हो भने । यो कुरा पुग्ला भनी मैले भन्दा हजुरले गौ, ब्राह्मण, अतिथि, फकिर, देव–देवताको मान्यता बहुतै राख्नुभएको छ, हाम्रा हातमा सरस्वतीको वरदान छ, हजुरलाई नेपालको राज्य अवश्य हुनेछ भने ।’

काठमाडौं खाडल जित्न उनलाई निकै समय लाग्यो । त्यसअघि उनले नुवाकोट जितेका थिए । नुवाकोट जितेपछि उनले गोरखा छाडी नुवाकोटलाई राजधानी बनाए । त्यस्तै काठमाडौं जितेपछि काठमाडौंलाई राजधानी बनाए ।

नुवाकोट, काठमाडौं आदिलाई जितिसकेपछि पृथ्वीनारायणले आफ्नो अधीनस्थ भूभागलाई गोरखा भनेनन्, नेपाल भन्ने नाम नै दिए । उनले गोरखा भन्न किन छाडे अथवा नेपाल भन्न किन रुचाए भन्ने सवलको जवाफ नेपाली इतिहासमा अहिलेसम्म मैले भेटेको छैन । कि त उनलाई गोरखाभन्दा नेपाल भन्ने नामले बढी आकर्षित गरेको थियो अथवा नेपालमण्डलका जनताको तृष्टीकरणका लागि उनले नेपाल नाम स्वीकारेको हुनसक्छ । यसो भन्नका खातिर पनि कि मुलुकमा शासक मात्र फेरियो तर मुलुक उही रह्यो ।

अथवा गोरखा राज्यमा नेपालमण्डललाई मिसाएको होइन कि नेपालमण्डलमै गोरखालाई जोडेको हो । यसरी वर्तमान नेपाल राज्यको इतिहास वि.सं. १८२५ बाट सुरु भएको भन्न सकिन्छ, जसको उमेर आज २५४ वर्ष भएको भन्न सकिन्छ ।

पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाल राज्य आज दुई सय चौवन्न वर्षपछि सुरक्षित छ तर यस मुलुकको राजकाज गर्ने उनका वंशज भने आज सत्तामा छैनन् राज्यसत्ताबाट बेदखल भइसकेका छन् । नेपाल राज्यलाई पृथ्वीनारायण शाह र उनीपछिका उनका १२ पिंढीका सन्तानहरूले राज्य गरे तर देश, काल, परिस्थितिले उनको वंशानुगत राज्याधिकारलाई निरन्तरता दिन सकेनन् र यो मुलुकले राजतन्त्रात्मक पद्धतिबाट मुक्त हुँदै गणतन्त्रात्मक पद्धति अपनायो ।

पश्चिमतिरको युद्ध अभियानलाई गति दिन वि.सं. १८३१ को हिउँदमा नुवाकोट दरबार पुगेको बेला महाराजा पृथ्वीनारायण शाह रोगले थलिए । आफ्नो स्वास्थ्यको गम्भीर स्थिति अनुभव गर्दै आफ्नो अन्त्यकाल आएको ठानी उनले नुवाकोट दरबारमै आफ्ना भारदारहरूलाई बोलाई नेपाल राज्य स्थापना गर्न उठाउनुपरेको कष्ट र त्यागको कथा सुनाए र दुःखकष्टसाथ आर्जेको राज्यलाई जोगाउन आफ्ना सन्ततिले लिनुपर्ने नीतिको बारेमा बताए । तर आफ्नो पुर्खाले आर्जेको राज्यसत्तालाई उनका सन्ततिले उनले भने झैं जोगाउन सकेनन् ।

शाहवंशका उत्तराधिकारीहरूले आफ्नो राज्यसत्ता किन जोगाउन सकेनन् ? अर्थात् शाहवंशको राज्यसत्ता किन विघटनमा पर्‍यो ? शाहवंशको समापन अर्थात् गणतन्त्रको अभ्युदय किन हुनुपर्‍यो ? यी सवालहरूको जवाफ इतिहासले आफ्नै किसिमबाट दिनेछ । तर त्यस जवाफको एक महत्वपूर्ण अध्याय भनेको हनुमाननगरको जेल काण्ड हो, जो २२ मई १९४३ को मध्यरातमा भएको थियो ।

हनुमाननगर जेल काण्ड भनेको सप्तरी जिल्लाको तत्कालीन सदरमुकाम हनुमाननगरमा रहेको कारागार (गारद)मा २००० साल जेठ ९ गते राति १२ बजे आक्रमण, आगजनी गरी त्यहाँ बन्दी बनाइएका भारतीय स्वतन्त्रता संग्रामका सेनानी जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरूको रिहाइको घटना र त्यस रिहाइपछि आन्दोलनकारीहरूले भोग्नुपरेको राजद्रोहको मुद्दा हो ।

भारतको स्वतन्त्रता संग्राम अन्तिम समयमा पुगेको बखत नेपालमा पनि राणाशासनको खिलाफ आन्दोलन सुरु भइसकेको थियो । भारतको स्वतन्त्रता संग्रामको लक्ष्य जहाँ बेलायती उपनिवेशबाट मुक्ति प्राप्त गर्नुथियो, त्यहाँ नेपाली आन्दोलनको उद्देश्य राणाहरूलाई राज्यको कार्यकारी अधिकारबाट बेदखल गर्नुरहेको थियो ।

त्यतिबेलाको नेपाली आन्दोलनको लक्ष्य राजतन्त्रबाट मुक्ति भन्ने थिएन, तर त्यही हनुमाननगर जेल काण्डमाथि राज्यले लिएको प्रतिशोधात्मक रवैयाका कारणले उत्पन्न भएको एक बीज हो, जसको नाम रामराजाप्रसाद सिंह थियो । त्यो बीज नै राजतन्त्रको विनाशको कारण बन्यो र नेपाली गणतन्त्रको प्रणेता कहलायो ।

हनुमाननगर जेल काण्डको घटनामाथि विभिन्न व्यक्तिले विभिन्न किसिमबाट लेखेका छन् । तर आज म यहाँ उनै गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंहले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेको तथ्यको आधारमा यहाँ सारांश प्रस्तुत गरेको छु । भारतीय स्वतन्त्रता संग्रामका महान् योद्धा जयप्रकाश नारायण र डा. राममनोहर लोहिया समय–समयमा नेपालको सप्तरी जिल्लामा पनि भूमिगत रहने गरेका थिए ।

सप्तरी जिल्लाको कोइलाडी गाउँ जमिनदारहरूको गढ थियो । त्यस गाउँका सात जना राजपूत परिवारको नेपाल र भारतमा समेत जमिनदारी थियो । दर्पनारायण सिंह त्यस्तै दुईतिरैका जमिनदार थिए । रामराजाप्रसाद सिंह दर्पनारायण सिंहको नाति र जयमंगलप्रसाद सिंहको ज्येष्ठ पुत्र थिए । उनी ८÷९ वर्षको हुँदा हनुमाननगर काण्डमा पिता, काका, भाइसहित १६÷१७ महिना नेपालको राजधानी काठमाडौंस्थित सेन्ट्रल जेलमा बन्दी बनाइएका थिए ।

आत्मवृत्तान्तमा उनी भन्छन्, “एक दिन मैले घरको माथिल्लो तलामा बाहिरबाट आएका दुईजना मानिस बसेका र आदर–सत्कार भइराखेको देखेर बुवासँग सोधें यिनीहरू को हुन् ?” बुवा जयमंगल प्रसादले जवाफ दिए कि उनीहरू जयप्रकाश नारायण र डा. राममनोहर लोहिया थिए । उनीहरू भूमिगत जीवन बिताउन नेपालमा आएका थिए । त्यसताक २०÷२५ दिन बसेर उनीहरू अन्यत्र गए र त्यसैको केही दिनपछि २००० साल जेठ ९ गते राति १२ बजे हनुमाननगर जेल काण्ड भयो ।

कोशी वारि हनुमाननगर, कोइलाडी आदि गाउँ पर्दछन् भने कोशी पारि सुनसरी जिल्लाको कुशहा गाउँ पर्दछ । त्यहाँ पनि जयमंगलप्रसाद सिंहको जमिनदारी थियो । त्यहाँ भारतीय स्वतन्त्रता संग्रामका योद्धाहरूलाई तालिम दिन आम्र्स ट्रेनिङ क्याम्प बनाइएको थियो ।

जयप्रकाश नारायण र डा. राममनोहर लोहिया कोइलाडीबाट निस्केपछि कुशहा क्याम्प पुगिसकेका थिए । आम्र्स ट्र«निङको दौरान फायरिङ हुन्थ्यो । नजिकै कोशी टप्पु (जंगल) थियो । सिकारीहरू ट्वेल्भ बोरको बन्दूक चलाउँथे । तर त्यहाँबाट थ्री नट थ्रीको आवाज आउँथ्यो । शंका लागेर सेना त्यहाँ पुगेको थियो ।

जयप्रकाश नारायण, डा. राममनोहर लोहियासहित केही योद्धा २० मई १९४३ मा पक्राउमा परे । बन्दीहरूलाई हनुमाननगर ल्याइयो । उनीहरू पक्राउ परेको खबर पाएपछि कोइलाडी गाउँमा बसेका स्वतन्त्रता सेनानीहरू पनि गायब भए । जयमंगलप्रसाद सिंह र अन्य नेपाली आन्दोलनमा लागेका कांग्रेसीहरू पनि भागे ।

त्यसबेला सप्तरीका सरकारी अड्डाहरू हनुमाननगरबाट राजविराज सर्दै गरेका थिए । बडाहाकिमको कार्यालय राजविराज सरिसकेको थिएन हनुमाननगरमै थियो । बडाहाकिम तुलाविक्रम राणा थिए । जयमंगलप्रसाद सिंहको बडाहाकिमसित निकटता थियो । जयमंगलप्रसाद सिंहले उनीहरूलाई छाडिदिन र उनीहरू भारततिरै गइहाल्ने भनेर अनुरोध गरेका थिए । उनीहरूको गिरफ्तारीबारे माथि जाहेर भइसकेकाले उनले मानेनन् ।

हनुमाननगर जेल काण्डबारे जयमंगलप्रसादको संस्मरण भारतको धर्मयुग पत्रिकामा छापिएको आत्मवृत्तान्तमा उल्लेख छ । उनले पूर्वी कमान्डिङ जनरल बबरशमशेरसँग पनि कुरा गरे तर भारत सरकारलाई पनि सूचित भइसकेको र एक दुई दिनमै अंग्रेजी सेना आएर सुपुर्दगी हुने भएकाले कुनै सिप लागेन । जेलमाथि नै आक्रमण गरेर बन्दीहरूलाई छुटाउने योजना बन्न थाल्यो ।

योजना अनुसार २००० साल जेठ ९ गते राति १२ बजे हनुमाननगर गारद (जेल) मा आक्रमण भयो । एकतिर आगजनी गरिदिंदा सिपाहीहरू तितरवितर भए । आक्रमणकारीको तर्फबाट गोली चल्यो, एक सिपाही ढल्यो । सिपाहीहरूले जेलमाथि आक्रमण भएको थाहा पाए । दुवैतर्फ गोली हानाहान हुनथाल्यो । तर आक्रमणकारी बन्दीहरूलाई छुटाउन सफल भइहाले ।

भारतलाई सुपुर्दगी गरिने कैदी जेल तोडेर फरार भएपछि नेपाल सरकार निकै विचलित भयो । नेपालतर्फका आक्रमणकारीको खोजी गर्दै पक्राउ गर्न थालियो । जयमंगलप्रसाद सिंह भागिसकेका थिए । घरमा पाहुना आएका अनुरञ्जनप्रसाद सिंह (जयमंगलप्रसाद सिंहका भिनाजु) गिरफ्तार गरिए । अनुरञ्जनप्रसाद सिंह हाम्रा भिनाजु हुुन भन्न गएका जयमंगलप्रसाद सिंहका भाइ रामेश्वरप्रसाद सिंह पनि पक्राउ परे ।

हनुमाननगर जेल काण्डबारे यस वृत्तान्तमा धेरै उल्लेख छैन । उक्त घटनाको विस्तृत विवरण ‘अगस्त क्रान्ति (विशेषांक, वर्ष–२, अंक ११–१२, अगस्त–सितम्बर–अक्तुबर, १९९२) बाट रामेश्वरप्रसाद सिंहको संस्मरणबाट साभार गरी मैले यसअघि नै लेखेको छु । यहाँ रामराजाप्रसाद सिंहको आत्मवृत्तान्तको आधारमा हनुमाननगर जेलकाण्डको सन्दर्भ जोडिएको छ ।

गिरफ्तारीको क्रम बढ्दै गयो । हनुमाननगर जेलकाण्डमा कोइलाडीका धेरै मान्छे पोलिएका थिए । किनभने जयप्रकाश र डा. लोहियाहरूलाई जेलबाट छुटाउन भएको आक्रमणमा समूह नै संलग्न थियो । फरार रहेका व्यक्तिहरूमाथि हाजिर हुन विभिन्न तवरले दबाव बढ्दै गयो । सप्तरीको बेल्ही (तिलाठी) गाउँका चार दाजुभाइ कानुनगो फनिलाल दास, भागवतलाल दास, जयनारायण लाल दास र मुसड्डीलाल दास पनि थिए । उनीहरूलाई तीन महिनापछि तारेखमा छाडिएको थियो ।

बालक रामराजाप्रसाद सिंहलाई पनि गिरफ्तार गरेर बयान लिने आशंकाले उनलाई मामाघर (भारत) पठाइदिए । रामाराजाप्रसाद सिंहको भनाइ अनुसार जयमंगलप्रसाद सिंहलाई निकै यातना दिइयो । चापसमेत लगाइयो । तर उनले घटनामा आफू संलग्न नरहेको बताए । बन्दीहरूलाई सप्तरीबाट अड्डासार गरी इन्डिया हुँदै काठमाडौंै लगियो । त्यहाँ सेन्ट्रल जेलमा राखिएको थियो ।

रामराजाप्रसाद सिंह मामाघरबाट आफ्नो गाउँ कोइलाडी फर्के । माघ–फागुनतिर माहिला भाइ लक्ष्मणप्रसाद सिंहसहित बुवालाई भेट्न गए । उनीहरू त्यहीं गिरफ्तार गरिए । दुवै दाजुभाइले १६ महिना बन्दी जीवन बिताए ।

आत्मवृत्तान्तमा रामराजाप्रसाद सिंहले १६ महिने जेल जीवनका अनेक घटनाबारे चर्चा गरेका छन् । जेलबाट राजनीतिक विषयवस्तुसम्बन्धी चिठी गोप्य रूपमा आदानप्रदान पनि हुन्थ्यो । एकचोटि जयप्रकाश नारायणले लेखेको एउटा चिठी आयो ।

उनले आफ्नो स्रोतबाट पठाएका थिए त्यो चिठी । यहाँ मलाई पनि बयान दिनुपरेको छ । त्यहाँ तपाइँले के बयान दिनुभएको छ त्यो सबै हामीले यहाँ सूचना पाउँ तपाइँहरूले दिएको बयानसँग मिल्ने गरी म पनि यहाँ बयान दिन्छु । यसो गर्दा तपाइँहरूलाई राम्रो हुन्छ भनेर लेखेका थिए ।

बुवा जयमंगलप्रसाद सिंहले रामराजाप्रसाद सिंह (दाजुभाइ)लाई जेलमा पढाइ दिने पनि गरेका थिए । रामराजाप्रसाद सिंहको भनाइमा जयमंगलप्रसाद सिंह राम्रो पिता तर नराम्रो शिक्षक थिए किनभने उनले पढाउँदा तलमाथि पर्दा खुबै कुट्थे । उनीहरूलाई कुटाइ गर्दा काका रामेश्वरप्रसाद सिंहले बचाइदिन्थे । उनले जयमंगलप्रसाद सिंहलाई जेलमा परेको कुण्ठा छोराहरूमाथि नपार्न भन्थे ।

दोस्रो विश्वयुद्धमा जर्मनीको हार भयो । पूर्वमा युद्ध बाँकी नै थियो । त्यहाँ जापान लडिरहेको थियो । युद्ध समाप्तिको उपलक्ष्यमा नेपालमा पनि खुशियाली मनाइयो र त्यही खुशियालीमा रामराजाप्रसाद सिंह दुवै दाजुभाइसहित धेरै कैदीलाई राणा सरकारले छाड्यो । तर जयमंगलप्रसाद सिंह माथिका मुद्दाको छिनोफानो भएको थिएन । बहादुरशमशेरले मुद्दा हेरिरहेका थिए । भारतमा जयप्रकाश नारायणले दिएको बयान मगाइएको थियो ।

उता भारतीय स्वतन्त्रता संग्राम पनि सफल भइसकेको थियो । भारत बेलायती उपनिवेशबाट मुक्त भइसकेको थियो । भारतीय स्वतन्त्रता संग्रामसँग सम्बन्धित दुनियाँको जुनसुकै देशमा जति पनि बन्दी थिए, सबैलाई छाड्ने भनिएको थियो । तर नेपालले मानेन । यिनीहरूको कुरा किन मान्ने भनेर तुजुक देखाउनका लागि होला राणाहरूले मुद्दाबाटै छिनोफानो गर्दिन्छु भनेर मुद्दा छिनेजस्तो गरेर जयमंगलप्रसाद सिंहसहित हनुमाननगर जेल काण्डका बाँकी जति सबै बन्दीलाई छाडिदिए ।

रामराजाप्रसाद सिंह बाल्यावस्थामा एक पटक टाइफाइडको सिकार भए । उपचारका लागि उनी भारत विहारको दरभंगा गए । उनले त्यहाँ भारतीय स्वतन्त्रता संग्रामको एक अत्यन्तै मार्मिक तर सौर्यपूर्ण घटना आफ्नो आवासअगाडि नै देखे । उक्त घटनाले उनलाई राजनीति, देशप्रेम, क्रान्ति, परिवर्तन, संघर्ष, संग्राम, बलिदान, शहादतको एउटै किश्त र तश्तमा सम्पूर्ण पाठ पढाइदियो ।

उनी भन्छन्, ‘मानिसको शरीरबाट बगिरहेको आलो रगत त्यो उमेरमा मैले दरभंगामा देखें । आन्दोलनकारी उसलाई हेर्न आइरहेका थिए । घाइतेले पानी पानी भन्न लाग्यो । मेरी आमा गएर पानी दिन खौज्दै हनुहुन्थ्यो, तर पानी दिन नपाउँदै शहीद हो गया, शहीद हो गया भन्दै मानिस कराउन लागे ।’

जमिनमा पोखिएको तिनको रगत हातले उठाएर निधारमा लगाउन र रगत लागेको माटो हातमा लिएर यताउति छर्कन लागे । उनलाई लाग्यो आन्दोलनमा बगेको रगत कति पवित्र हुँदोरहेछ । उनले राजतन्त्र उन्मूलनका लागि जुन सशस्त्र क्रान्तिको सुरुआत वि.सं. २०४२ मा गरे, क्रान्तिको त्यो सुरुआत पछिको पहिलो पर्चामा उनले लेखे कि क्रान्ति एउटा पर्व हो ।

त्यसमा बगेको रगत अमृतधारा हो, त्यसले मृत्यु होइन अमरत्व दिन्छ । दरभंगामा भएको त्यही घटनामा रगत बगाउने मानिस ‘अमर हो गया, अमर हो गया’ भन्ने नाराले उनको हृदयमा अमिट छाप पार्‍यो । क्रान्तिमा जो मर्छन् ती अमर हुन्छन्, तिनले अमरत्व प्राप्त गर्छन् भन्ने बोध उनलाई भयो ।

पिता जयमंगलप्रसाद सिंह युवावस्थामै भारतीय स्वतन्त्रता संग्रामसँग जोडिएका थिए । जयमंगलप्रसाद सिंहले आफ्नो झन्झारपुर जमिनदारीमा क्रान्तिको बत्ती बालिसकेका थिए । त्यसै सेरोफेरोमा जयप्रकाशनारायण, डा. राममनोहर लोहियाको नेपाली प्रवासको थलो सप्तरीको कोइलाडी बन्न पुगेको थियो । हनुमाननगर जेल काण्ड र काठमाडौं सेन्ट्रल जेलमा रामराजाप्रसाद सिंहको बन्दी जीवन त्यसै घटनाको पछिल्लो कडी बन्यो, जसले रामराजाप्रसाद सिंहलाई एक दिन राजतन्त्रको विनाशकको रूपमा अवतरित गरायो ।

१६ महिने जेल यात्राबाट फर्केपछि रामराजाप्रसाद सिंह अध्ययनतर्फ लागे । पछि बनारसको बी.ए. पढाइको क्रममा उनले राजनीतिक विषयहरूमा चाख लिन थालेका थिए । पिता जयमंगलप्रसाद सिंह भने नेपाल र भारतको उच्च तहसम्मको सम्पर्कमा पुगिसकेका थिए ।

भारतीय स्वाधीनतापछि रियासतहरूको विलयको प्रभाव नेपालमाथि पनि परेको थियो । तर नेपालको प्रभुसत्ता जोगाउने विषयलाई लिएर उनी श्री ३ महाराज मोहनशमशेरको प्रतिनिधिको रूपमा भारतीय नेताहरू गृहमन्त्री पटेल, प्रधानमन्त्री नेहरू समेतलाई भेटेका थिए । हुनत जयमंगलप्रसाद सिंह नेपालको राजतन्त्रसँग भने सहमत थिएनन् ।

नेपालको राजगद्दीमा महेन्द्र विराजमान भइसकेका थिए । त्यसैबेला कोशी योजना बन्ने भयो । राजा महेन्द्रलाई जयमंगलप्रसाद सिंहले कोशी योजनाको विषयमा एउटा ज्ञापन पनि दिएका थिए । राजा महेन्द्रले उक्त ज्ञापनप्रति सकारात्मक देखिए । पछि उनलाई कोशी प्रोजेक्टको विशेष अधिकृत पनि नियुक्त गरियो ।

कोशी योजना त पूरा भयो तर ब्यारेज बनेको ठाउँलाई लिएर नेपाल–भारत सीमा विवादको किचलो सुरु भयो । जयमंगलप्रसाद सिंहको भनाइ अनुसार कोशी ब्यारेज नेपाली भूमिमा बनेको थियो तर भारतीय अधिकारीहरूरूा अनुसार उक्त भूमि भारतमा पर्दछ । नेपालका अधिकारी तथा राजासमेत ब्यारेज जहाँ बनेको भए पनि किचलो गरिरहने पक्षमा थिएनन् । तर उनले मानेनन् ।

अन्ततः बोर्डर कमिशन बन्यो र कमिशनले जयमंगलप्रसादको दाबीलाई नै सही ठहर गर्‍यो । विवादपछि भारतले कोशी प्रोजेक्टका अधिकारीहरूलाई अन्यत्र सरुवा गरिदियो । भारतीय अधिकारीहरूले द्विपक्षीय सम्बन्ध सुमधुर बनाइराख्न नेपालतर्फका जयमंगलप्रसाद सिंहलाई पनि हटाउन चाहे ।

भारत पक्षकै कुरामा लागेर राजा महेन्द्रले जयमंगलप्रसाद सिंहलाई पनि हटाउन खोजे । जयमंगलप्रसाद सिंहले राजाको कुरा स्वीकार गर्दै आफैं राजीनामा दिन तयार भए तर उनलाई राजीनामा दिने अवसर नदिई राजाले हटाइदिए । त्यस घटनाले राजा महेन्द्र र जयमंगलप्रसाद सिंहबीच दूरी बढाउने काम गर्‍यो ।

राजा त्रिभुवनको मृत्यु हुँदा रामराजाप्रसाद सिंह बनारस युनिभर्सिटीमा पढ्दै थिए । बनारसमै हुँदा रामराजा प्रसाद सिंहमा राजतन्त्रविरोधी भावना आउन थाल्यो । राजा महेन्द्रको राज्याभिषेक हुँदा उनले एक लेख प्रकाशित गर्न खोजे । तर राजतन्त्रविरोधी लेख भएकोले कसैले पनि प्रकाशित गर्न मानेन ।

बनारसमा बी.ए. सकेर उनी दिल्ली युनिभर्सिटी गए । त्यतिबेला क्युबाली क्रान्ति चलिरहेको थियो । फिडेल क्यास्त्रो र चे ग्वेभाराको अगुवाईमा भएको त्यो क्रान्तिबाट उनी निकै प्रभावित भएका थिए । दिल्ली युनिभर्सिटीमा अन्तर्राष्ट्रिय गुरिल्ला क्रान्तिकारी क्लारासँग उनको भेट भयो ।

वि.सं. २०१८ तिर क्लाराकै सहयोगमा रामराजाप्रसाद सिंहले चे ग्वेभारालाई बर्माको एउटा टापुमा भेट्ने अवसर पाए । रामराजाप्रसाद सिंहको भावी क्रान्तिकारितामा चेसँगको त्यो भेटको प्रेरणादायी भूमिका रहेको देखिन्छ ।

रामराजाप्रसाद सिंहले दिल्ली युनिभर्सिटीबाट एम.ए. र विहार युनिभर्सिटीबाट कानुनको अध्ययन सकेर वि.सं. २०२१ मा काठमाडौं पुगे । सर्वोच्च अदालतबाट अधिवक्ताको लाइसेन्स लिएर वकालत सुरु गरे । तर उनले वकालत गर्न नभई वकालतको निहुँमा क्रान्तिको मनसुबा राखेका थिए ।

वि.सं. २०१७ मा राजा महेन्द्रले ‘कु’ गरेको भन्दै रामराजाप्रसाद सिंहले त्यसैलाई आधार बनाई क्रान्ति सुरु गर्न चाहन्थे । उनले नेपाली कांग्रेसका तत्कालीन सभापति सुवर्णशमशेरलाई क्रान्तिको प्रस्ताव पनि राखे तर सुवर्णले अस्वीकार गरिदिएका थिए ।

राजा महेन्द्रले लागु गरेको पञ्चायती पद्धतिको संसद (राष्ट्रिय पञ्चायत) मा स्नातक क्षेत्रबाट चार जना निर्वाचित भएर जाने प्रावधान थियो । त्यसतहत वि.सं. २०२४ मा पहिलोपटक स्नातक क्षेत्रका चार प्रतिनिधिका लागि निर्वाचन भयो । उक्त निर्वाचनमा रामराजाप्रसाद सिंहले पनि उम्मेदवारी दिए ।

त्यतिखेर उनी राजतन्त्र विरोधी भनेर चिनिसकिएका थिए । वि.सं. २०१८ साल माघ ९ गते राजा महेन्द्रको जनकपुर यात्राको क्रममा दुर्गानन्द झाले बम फाल्ने काम गरेको कसूरमा उनलाई वि.सं. २०२० साल माघ १५ गते फाँसी दिइँदा रामराजाप्रसाद सिंहले गरेको टिप्पणीबाट पनि राजा महेन्द्र चिढिएका थिए ।

निर्वाचनका दौरान उनले आफ्नो उम्मेदवारी किन भन्ने पर्चा वितरण गरे । बत्तीसपुतलीमा आयोजित एक सभामा भाषण पनि दिए । उनको पर्चा र भाषणको आधारमा राजाविरुद्ध द्वेष फैलाएको भन्दै उनको उम्मेदवारी रद्द गर्नुको साथै सुरक्षा कानुनअन्तर्गत गिरफ्तार पनि गरिए । निकै पछि उनी जमानतमा छुटे ।

वि.सं. २०२८ मा पुनः स्नातक क्षेत्रबाट राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हुनेभयो । यसपल्ट उनले सावधानीपूर्वक गिरफ्तारीबाट बच्दै चुनावमा उम्मेदवारी दिए र प्रचारप्रसार गर्न थाले । यसपटक अझ बढी जुझारु भाषण दिन थाले । यस पटक उनको पर्चा अझ धेरै कडा थियो । त्यो पर्चाको प्रति छपाएर पाँच सय रुपैयाँसम्ममा बिक्री हुन थाल्यो ।

प्रहरी रामराजाप्रसाद सिंहको पछि परेको थियो तर उनी पक्राउमा पर्नबाट जोगिंदै गए । मतदानपछि उनी काठमाडौंमै भूमिगत भई बसे । निर्वाचनको परिणाम आयो– जसमा क्रमशः प्रयागराज सिंह सुवाल, रामराजाप्रसाद सिंह, कृष्णप्रसाद भण्डारी र डा. प्रकाशचन्द्र लोहनी निर्वाचित भए । तर रामराजाप्रसाद सिंहलाई शपथ लिन नदिन आदेश जारी भयो । उनलाई पक्रन र थुन्न प्रहरी लागिपरेको थियो तर सफल हुनसकेको थिएन ।

राष्ट्रिय पञ्चायतको बैठक सुरु हुने दिन सदनमा उनलाई पुग्न नदिन चप्पाचप्पामा सेना र प्रहरी तैनाथ थिए । तर नाटकीय रूपमा उनी राष्ट्रिय पञ्चायत हलमा प्रवेश गर्न सफल त भए तर उनको शपथ गराइएन । प्रहरीले उनलाई संसदभित्रबाटै पक्राउ गरेर लग्यो । अञ्चलाधीशले उनलाई अढाइ वर्षको जेल सजाय सुनाए ।

यस घटनाको तीव्र प्रतिक्रिया भयो, सरकारको आलोचना हुन थाल्यो । राष्ट्रिय पञ्चायतमा प्रश्न उठ्न थाल्यो । प्रधानमन्त्री कीर्तिनिधि विष्टले कुनै उपाय निकाल्न सकेनन् । राजा महेन्द्र आफैं सक्रिय भए ।

उनले दुई पटक रामराजाप्रसाद सिंहलाई दरबारमा बोलाई भेटे, प्रलोभन दिंदै, डरत्रास देखाउँदै उनलाई माफी माग्न हुकुम दिए तर रामराजाप्रसाद सिंह माफी माग्न राजी भएनन् । अन्ततः राजा महेन्द्रले आफैंले माफी दिएको घोषणा गर्दै राष्ट्रिय पञ्चायतलाई उनको शपथ ग्रहण गराउन आदेश दिए ।

उक्त घटनापछि रामराजाप्रसाद सिंह घोषित रूपमा गणतन्त्रवादी भए । उनले क्रान्तिको पहल गर्न थाले । उनीविरुद्ध पुनः अभियोग लगाइयो । उनी स्वदेशमा भूमिगत रहे । भारत निर्वासित पनि भए । वि.सं. २०३७ को जनमत संग्रह पनि भयो । उनी आए गए । वि.सं. २०४२ को बम काण्ड पनि भयो ।

उनलाई मृत्युदण्डको सजाय पनि तोकियो । उनको जायजेथा पनि खोसियो । वि.सं. २०४७ को राजासहितको बहुदलीय संविधान पनि आयो । तर उनी अडिग भएर राजतन्त्रको खिलाफ र गणतन्त्र स्थापनाका लागि संघर्षरत रहिरहे । स्वदेश वा निर्वासनमा जहाँ रहे पनि उनको संघर्षले भने गति लिइरह्यो ।

देश गणतन्त्रका लागि जनयुद्धमा पनि होमियो । वि.सं. २०४२ को बमकाण्ड सशस्त्र संघर्षको आधार बन्यो । राजपरिवारको अन्त्य भयो । राजा ज्ञानेन्द्र शासनमा आए । उनले पनि ‘कु’ गरे । वि.सं. २०६२÷६३ को आन्दोलन भयो र अन्ततः देश गणतन्त्रमा पुग्यो ।

रामराजाप्रसाद सिंहको आत्मवृत्तान्त ठूलो छ । गणतन्त्रका लागि उनले गरेको कामलाई यो सानो लेखमा समेट्न कठिन छ । तर उनको जीवनकालमै गणतन्त्रको स्थापना हुनुले उनलाई सन्तोष मिलेको थियो ।

रामराजाप्रसाद सिंह आज हामीबीच छैनन् । तर उनले यो देशलाई दिएको योगदानको जति नै प्रशंसा गरे पनि थोरै हुनेछ । उनले पृथ्वीनारायण शाहले स्थापना गरेको शाहवंशीय शासनलाई समाप्त पारे । यसका लागि उनले आफ्नो जीवन नै अर्पित गरिदिए । उनले, उनको परिवारले, उनको संगठनले र उनलाई सहयोग गर्ने सर्वसाधारण सबैले अनेकौं दुःखकष्ट, प्रशासनिक कारबाहीको सामना गर्न र झेल्नु पर्‍यो, बलिदान दिनुपर्‍यो तर अन्ततः परिणाम चाहे बमोजिम प्राप्त भएपछि सबै दुःखकष्ट हराएर गयो ।

रामराजाप्रसाद सिंह जमिनदार परिवारमा जन्मिएका थिए । उनी आम जमिनदार सरह जीवनयापन गर्थे होला तर हनुमाननगर जेल काण्ड एक त्यस्तो घटना हुन पुग्यो, जसमा परेर उनी, उनका पिता, काका, नातागोतासहित कैदीको जीवन व्यतीत गर्नुपर्‍यो । कदाचित त्यही हनुमाननगर घटना राजतन्त्रका लागि विषवृक्ष बन्यो ।

यस प्रकार पृथ्वीनारायण शाहले निर्माण गरेको राज्यसत्ता, हनुमाननगर जेल काण्ड र रामराजाप्रसाद सिंहको एक एउटा त्यस्तो सन्दर्भ बन्दछ, जसलाई हामीले कमसेकम हनुमाननगर जेल काण्डको ७९औं वार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्षिकोत्सवको अवसरमा स्मरण गर्नु उचित छ । ऐतिहासिक हनुमाननगर जेल (गारद) रहेको स्थान यकिन गरी त्यहाँ गणतन्त्रका प्रणेताको सालिक बनाउन सकियो भने र गणतन्त्र क्रान्तिका चिन्हहरू अंकित हुने गरी संग्रहालय बनाउन सकियो भने देशका लागि धेरै ठूलो काम हुनेछ ।

वि.सं. २०६५ जेठ १५ गते नेपाल गणतन्त्र घोषित भयो । वि.सं. २०६२÷६३ को जनआन्दोलनबाट पुनस्र्थापित प्रतिनिधिसभाले तत्काल प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रप्रमुख नियुक्त गर्दै निर्वाचित संविधानसभाबाट गणतन्त्र नेपालको प्रथम राष्ट्रपति निर्वाचित गर्ने व्यवस्था गर्‍यो । उक्त व्यवस्था अनुसार वि.सं. २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन भयो ।

उक्त संविधानसभाले २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति निर्वाचित गर्‍यो । उक्त निर्वाचनमा गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंह पनि उम्मेदवार भए । राष्ट्रले गणतन्त्रका प्रणेतालाई गणतन्त्र राष्ट्रका प्रथम राष्ट्रपति सौगातको रूपमा उनलाई दिनसक्थे । तर यो देश त्यति उदार हुन सकेन । अब पनि कमसेकम उनको सालिक बनाएर उनको लागि र गणतन्त्रका सन्ततिहरूका लागि केही गर्ने अवसर यो देशसँग छ ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?