
काठमाडौं । अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ आगामी असार २४ गते रिलिज हुने भएको छ । कोरोना महामारीका कारण प्रभावित बनेको यो फिल्म रिलिज हुन लागेको हो ।
फिल्मका निर्माताले बुधबार रिलिज मितिसहित नयाँ अधिकारिक पोस्टर सार्वजनिक गरेका छन् ।
एक दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा फुटबल खेललाई आधार बनाएर दुई गाउँले बीचको मनमुटावलाई फिल्मले चित्रण गरेको छ । माओवादी द्वन्द्व उत्कर्षमा पुगेको बेला यसले पारेको सामाजिक प्रभाव यसमा प्रस्तुत छ ।
सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँबीचको किचलो पनि यसको कथा हो । सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र विरासत हत्याउन गाउँलेले खेलको माध्यम अपनाउँछन् ।
अर्थात् फुटबल खेलमा जसले जित्छ, वनमाथि उसकै रजाइँ चल्छ । तर द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरु पनि छैनन् ।
राजन कठेत लिखित फिल्मलाई शैलेन्द्र कार्कीले खिचेका हुन् । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप, कमल देवकोटा, सजन थापामगर लगायतको मुख्य भूमिका छ ।
‘दोख’मा आभास र पुष्प संगमको संगीत रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् ।
प्रतिक्रिया 4