
काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित फिल्म ‘वर एण्ड वधु’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार पत्रकार सम्मेलन गरी फिल्मबारे जानकारी दिए ।
मल्टिस्टारर फिल्ममा आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका हुनेछ । आँचलसँग काम गर्दा सजिलो हुने कर्माचार्यले बताए । उनीसँग केमेस्ट्री मिल्ने आशा उनले राखे ।
फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।
निर्देशक चाम्सले यो फिल्मलाई रोमानिया, इटाली, फ्रान्समा पनि छायांकन गर्दैछन् । जेठ अन्त्यदेखि छायांकन सुरु गर्ने तयारी रहेको चाम्सले बताए ।
नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारको खोजीमा फाइदा पुग्ने निर्देशक चाम्सले बताए । नेपाली र हिन्दी भाषाका दर्शकलाई फिल्ममा आकर्षण गर्ने आशा उनले राखे ।
‘फरक तरिकाले फिल्म बनाउन लागेका हौं । सकारात्मक रुपले फिल्मलाई अघि बढाइएन भने भोलि उद्योगको लागि खराब स्थिति आउन सक्छ,’ चाम्सले भने, ‘नेपाली संस्कृतिमै आधारित रहेर बनाउने यो फिल्मले सांस्कृतिक फाइदा पनि पुग्छ ।’ विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले फिल्ममा प्रस्तुत गरिने उनले जनाए ।
फिल्ममा अर्जुन पोखरेल र युग भुसालको संगीत र रविन्द्र सुवेदीको छायांकन हुने भएको छ । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ बताइएको छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4