
१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागेको आरोप लगाएका छन् ।
आयल निगमको विकल्पमा निजी क्षेत्र ल्याउन सरकार आफैं मोटो रकमको चलखेलमा लागेको पनि उनले आरोप लगाए ।
सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधी सभामा शुक्रबार बोल्दै ओलीले भने, ‘आयल निगम ध्वस्त बनाएर त्यसको खर्बौंको व्यापारमा निजी क्षेत्र घुसाउन खोजिंदैछ । यसका लागि मोटो रकमको चालखेल भइसकेको छ, हुनेवाला छ भन्ने बजार हल्ला छ ।’
आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला समेत झुक्याएर एउटा समूह त्यो कार्यमा लागेको स्मरण गर्दै ओलीलले पछि थाहा पाएपछि त्यसलाई निष्क्रिय बनाएको उनको दाबी थियो ।
इन्धन जस्तो अत्यवश्यक वस्तुमा निजी क्षेत्रले हड्ताल गरिदिए के हुन्छ भन्दै उनले निजीकरणको विरोध गरे ।
अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि पहिलो आयोजना सकिएको र अन्य क्षेत्रमा पनि काम भइरहेको भन्दै उनले सहजतातर्फ अघि बढेको पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिएको उनको आरोप थियो ।
नेपाल आयल निगमको विकल्पमा अर्को कुनै निजी क्षेत्र आवश्यक नभएको भन्दै ओलीले यसमा खबरदारी गर्न जनतालाई आग्रह पनि गरे ।
प्रतिक्रिया 4