
काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले कानुन मन्त्रालय र यूएनडीपीसँग मिलेर गरेको जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ ।
चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको बशिष्ठ निर्देशित फिल्म २ लाख रुपैयाँ नगदसहित पुरस्कृत भएको हो ।
दर्शकले पनि मत दिनेगरी प्रतियोगितामा सहभागिताका लागि आएका ५६ फिल्ममध्ये २० फिल्मलाई आयोजकले सामाजिक सञ्जालमा उपलब्ध गराएका थिए । यसरी दर्शकको ५० प्रतिशत अंकभार र जुरीको ५० अंकभार जोडेर चार विजेता छनोट गरिएको हो ।
जुरीले सर्ट लिस्ट गरेका २० फिल्मबाट सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो भएको छ भने राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ले तेस्रो स्थान हासिल गरेको छ । शर्मा क्रिएसनको ‘अछोप’लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
विजेता चार फिल्मसँगै निर्णायकले छानेका १६ फिल्मका सहभागीलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
निर्देशक समाज र यूएनडीपीले जातप्रथा र यसको उन्मूलनका उपाय समेटिएका कथा तीन मिनेटभित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए ।
कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता, निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा लगायतको निर्णायक मण्डलले प्राप्त ५६ फिल्मबाट २० फिल्म छानेका थिए ।
प्रतियोगितामा दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया 4