
१५ जेठ, काठमाडौं । सरकारले आयकरको सीमा परिवर्तन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य मार्फत सरकारले पारिश्रमिकमा आधारित भएर आम्दानी गर्नेहरुको हकमा केही खुकुलो नीति अपनाएको हो ।
बजेटको नयाँ व्यवस्थाअनुसार तपाईंको आम्दानी कति छ ? र कति कर तिर्नुपर्छ ? यसरी हिसाव गर्नुहोस् ।
करको पहिलो सीमा
तपाई अविवाहित हुनुहुन्छ र वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म छ भने अहिलेसम्म तपाईंले एक प्रतिशत सामाजिक सुरक्षा करका लागि वार्षिक ४ हजार रुपैयाँ कर तिर्दै आउनुभएको छ । विवाहितले भने साढे ४ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर तिर्दै आएका छन् ।
बजेट वक्तव्यले १ प्रतिशत कर तिरेर हुने आम्दानीको सीमा अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा ६ लाख पुर्याएको छ । यदि तपाई अविवाहित हो भने वार्षिक ५ लाख रुपैयाँसम्म कमाउदा वार्षिक केवल ५ हजार कर तिरे पुग्छ । विवाहित हो भने ६ लाख रुपैयाँसम्म वार्षिक ६ हजार कर तिरे पुग्छ ।
करको दोस्रो सीमा
दोस्रो करको सीमा अविवाहितका लागि ७ लाख रुपैयाँसम्मको छ । तपाईंको कमाई ५ लाख रुपैयाँभन्दा बढी छ भने ५ लाख रुपैयाँभन्दा जति बढी रकम आम्दानी हुन्छ, त्यसमा १० प्रतिशत कर लाग्छ ।
त्यो कर ५ लाख रुपैयाँमा होइन कि त्यस भन्दा बढी भएको रकममा मात्र लाग्ने हो । विवाहितको हकमा ६ लाख रुपैयाभन्दा माथि ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर लाग्छ ।
करको तेस्रो सीमा
करको तेस्रो सीमा अविवाहितको हकमा ७ लाखभन्दा माथि १० लाख रुपैयाँसम्मको राखिएको छ । विवाहितको हकमा ८ लाखबाट ११ लाखसम्मको राखिएको छ । अविवाहितको आम्दानी वार्षिक ७ देखि १० लाख रुपैयाँ भएमा ७ लाख भन्दा माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ । विवाहितलाई ८ लाखदेखि माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ ।
करको चौथो सीमा
हालसम्म साढे ७ देखि थप १३ लाख रुपैयाँ वार्षिक आम्दानी भए बढेको रकममा ३० प्रतिशत कर लाग्थ्यो । त्यो दर यथावत अर्थात ३० प्रतिशत नै कायम छ । तर अब अविवाहितको हकमा १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्छ । विवाहितको हकमा ११ लाखभन्दा माथि २० लाखसम्मको आम्दानीमा ३० प्रतिशत कर लाग्छ ।
करको पाँचौ सीमा
वार्षिक २० लाख रुपैंयाभन्दा बढी रकम कमाउनेको हकमा तल्लो दायराका कर तिरेर माथिको हकमा ३६ प्रतिशत करको व्यवस्था कायमै छ । यदि तपाईंले बार्षिक २५ लाख कमाउनु हुन्छ भने अब कुल ५ लाख ३६ हजार रूपैयाँ आयकर तिर्नुपर्ने छ ।
प्रतिक्रिया 4