
१६ जेठ, बुटवल । मानव वस्ती जोखिममा परेको भन्दै स्थानीयले रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक डिपो स्थानान्तरण गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
घना बस्तीको बीचमा रहेको डिपोमा इन्धन लोड–अनलोडका क्रममा पटक पटक आगलागीका घटना दोहोरिएको हुँदा स्थानीयले स्थानान्तरणको माग गरेका हुन् ।
तिलोत्तमा नगरपालिका– ७ का बासिन्दाले सोमबार निगमको डिपो परिसरमा प्लेकार्ड सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी स्थानीयले यथाशीघ्र डिपो स्थानान्तरण गर्नुपर्ने, स्थानान्तरण नहुँदासम्म आगलागी हुन नदिन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र ट्याङ्कर पार्किङ व्यवस्थित गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
डिपो स्थानान्तरणको लिखित प्रतिवद्धता नआएसम्म चरणवद्ध आन्दोलन जारी राख्ने निगमका डिपो प्रमुखलाई जानकारी गराएको स्थानीय गुणनिधि भण्डारीले जानकारी दिए । स्थानीयले २०७४ सालमै डिपो स्थानान्तरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
पछिल्लोपटक जेठ १३ गते डिपोमा इन्धन खन्याउन (अनलोड गर्न) आएका दुई वटा ट्याङ्करमा आगलागी भएको थियो । लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करबाट तेल खन्याउने क्रममा आगलगी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र निगमकै दमकलले आगलागी नियन्त्रणमा लिएकाले डिपो र वस्ती ठूलो दुर्घटनाबाट जोगिएको थियो ।
निगमका डिपो प्रमुख नवदीप पोखरेलले स्थानीयका माग निगमको केन्द्रीय कार्यालयमा जानकारी गराउने बताए । निगमको डिपो जिल्लाकै रोहिणी गाउंपालिकामा स्थानान्तरण गर्न १६ बिघा जग्गा खरिद भइसकेको तर अदालतमा मुद्दा परेर रोकिएकोमा हालै मात्र फुकुवा भएकाले अब प्रक्रिया सुरु हुने बताए ।
निगमले इन्धन भण्डारण डिपोका लागि रूपन्देहीको रोहिणी सहित झापा, सर्लाही र चितवनमा जग्गा खरीद गरेको थियो । तर जग्गा प्राप्ति ऐनअनुसार खरीद गर्नुपर्नेमा निगमका पदाधिकारी र बिचौलियाको मिलेमतोमा केही जग्गा व्यवसायीले किसान र जग्गाधनीसँग सस्तोमा जग्गा किनेर निगमलाई मिलेमतोमा बढी मूल्यमा जग्गा बेचेका थिए ।
त्यसरी जग्गा किन्दा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको भेटिएपछि अख्तियारमा मुद्दा परेको थियो ।
प्रतिक्रिया 4