
१६ जेठ, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० वर्ष माथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले ४० वर्ष माथि भएर पनि विवाह नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।
त्यस्तै आकस्मिक दुर्घटना, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेकाहरुले निःशुल्क एम्बुलेन्स सेवा पाउने छन् ।
गाउँपालिकाका बासिन्दालाई सहज सेवा प्रवाह गर्नका लागि र केही राहत होस भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।
बैठकले लक्षित समुदाय, गरिब, विपन्न वर्गको स्वास्थ्य बीमा गरिदिने निर्णय पनि गरेको छ । हरेक वडामा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गरी सुलभ दरमा दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने, २ वर्ष भित्र गाउँपालिकाका सबै खरका छानामुक्त गरी जस्ता वा ढुङ्गाका छाना हाल्ने निर्णय पनि गरेको उनले बताए ।
प्रतिक्रिया 4