
बलिउडसँग कुनै नाता सम्बन्ध नभएको परिवारबाट आएर आफ्नो बेग्लै पहिचान बनाई छोटो समयमै लोकप्रियता कमाएको नाम हो, कार्तिक आर्यन ।
सन् २०११ मा आएको ‘प्यारका पञ्चनामा’बाट बलिउडमा कदम राखेका कार्तिकको अहिले ‘भुल भुलैया-२’ चलिरहेको छ । यसले बक्स अफिसमा राम्रो कमाइ पनि गरिरहेको छ ।
‘गेस्ट इन लण्डन, सोनु के टिटिकी स्वीटी, लब आजकल-२ र धमाका लगायत थुप्रै फिल्ममा अभिनय गरेका कार्तिकलाई अहिले फिल्मको कमी छैन ।
बलिउड ‘नेपोटिजम’ले आक्रान्त छ भन्ने आम गुनासोका बाबजुद पनि कार्तिकले आफ्नै बलबुतामा बलिउडमा आफ्नो पहिचान बनाइसकेका छन् । मध्यप्रदेशको ग्वालियरबाट पढाइका लागि मुम्बई पुगेका उनी कसरी हिरो बने ? यस्तो छ आर्यनको बलिउड यात्रा ।
अढाइ वर्षसम्म बताएनन् परिवारलाई
ग्वालियरका कार्तिक आर्यनले इन्जिनियरिङ पढेका छन् । यसको प्रमाण उनले ट्वीटर ह्याण्डलमा ‘बीटेक’ लेखेर पनि दिएका छन् ।
कार्तिकको पूरै परिवार स्वास्थ्य क्षेत्रमा संलग्न छ । परिवार स्वास्थ्य क्षेत्रमा लागेकाले उनलाई पनि यसै पेशामा लगाउने परिवारको चाहना थियो । सकेसम्म डाक्टर नभए इन्जिनियर बनोस् भन्ने चाहना थियोे ।
तर कार्तिकले बलिउडको यात्रा तय गर्ने विचार गरिसकेका थिए । बलिउडमा कदम राख्ने सोचेर उनले अध्ययनका लागि मुम्बई रोजे । मुम्बई रोज्नुको एक मात्रै कारण थियो, पढाइका साथै फिल्मका लागि अडिसन दिन सकियोस् ।
‘मैले मेरा सपनाका बारेमा घरपरिवारलाई बताएको थिइनँ । परिवारमा सबै डाक्टर भएकाले उनीहरुको चाहना थियो कि म डाक्टर वा इन्जिनियर बनुँ । म ग्वालियरको भएकाले त्यहाँबाट मुम्बई आउनु नै मेरा लागि सबैभन्दा ठूलो संघर्ष थियो । मुम्बई आउनका लागि बहाना चाहिएको थियो । फिल्मका लागि अडिसन दिन सकुँ भनेर मैले मुम्बई, नयाँ मुम्बई र यस आसपासका कलेजमा भर्ना हुने विचार गरें । नयाँ मुम्बईको डीवाई पाटिल कलेजको परीक्षामा पास भएको थिएँ म,’ उनले भने ।
इन्जिनियरिङ पढ्दापढ्दै फेसबुकको माध्यमबाट कार्तिकले फिल्मका लागि अडिसन दिने स्थान खोज्न थालिसकेका थिए । यसपछि उनी अडिसनका लागि मुम्बईका गल्लीगल्ली धाउन थाले । उनले अडिसन दिएको र आफ्नो फिल्म रिलिज हुने पक्कापक्की नभएसम्म परिवारलाई बताएका थिएनन् ।
‘अढाइ वर्षसम्म पनि मैले फिल्मका लागि काम गरिरहेको कुरा परिवारलाई थाहा थिएन । यो कुरा तबसम्म गुपचुप रह्यो, जबसम्म फिल्म फ्लोरमा आउँछ र रिलिज हुन्छ भन्ने पक्का भएन,’ कार्तिकले भनेका छन्, ‘यो भन्दा पहिला अडिसन दिएपछि फिल्म बन्ने भने पनि नबनेपछि म सावधान थिएँ ।’
धेरैले बिना अडिसन ‘अनफिट’ भन्थे
फेसबुकबाट अडिसन हुने स्थान खोज्ने र सिधै अडिसन दिन पुग्ने गरेका कारण आफूले निकै दुःख भोगेको कार्तिक बताउँछन् ।
‘बेलापुरमा बस्दा म लोकल ट्रेन चढेर अडिसनका लागि अँधेरी वा सान्ताकुञ्ज पुग्थें । म बिना कुनै सम्बन्ध अडिसनका लागि जान्थें । कुनै दिन कपडा बोकेर जान्थें भने कुनै दिन राम्ररी तम्तयार भएर,’ उनले भनेका छन्, ‘तर हामीले सीमित मान्छे बोलाएको भन्दै मलाई घर फर्काइन्थ्यो । कहिले कफी सपमा अडिसन हुन्थ्यो भने कहिले झुटो अडिसन समेत हुन्थ्यो । यो निकै लामो समयसम्म चल्यो ।’
अडिसनमा नबस्दै धेरै पटक उनलाई ‘अनफिट’ भन्दै निकालियो । उनी सोच्थे अडिसनसम्म पनि दिन दिएनन् । यस्ता कुराले उनलाई निकै पीडा हुन्थ्यो ।
धेरैले ‘यो हिरो बन्यो भने नाम बदल्छु’ सम्मका कुरा गरेको कार्तिक सुन्थे । तर उनले यस्तो सोच्दैनथे । उनलाई आफूमाथि विश्वास थियो ।
मुम्बईमा भाडा तिर्न र खान समस्या
सपनाको नगरी मुम्बई सहरमा खान बस्न त्यति सहज हुँदैन भन्ने त्यहाँ पुगेको केही समयपछि नै कार्तिकले थाहा पाइसकेका थिए । मुम्बईमा घरभाडा तिर्न र खाना खर्च जुटाउन उनले निकै मेहनत गर्नु परेको थियो ।
‘मैले दुई फिल्ममा काम गर्दासम्म पनि हरेक कोठामा तीन जना गरी १२ जना सँगै बस्थ्यौं । त्यस समय मैले धेरै साथी बनाएँ, जोसँग अहिले पनि म नजिक छु । ग्वालियरमा आमाबुवाको कमाइ सीमित थियो, जसबाट मेरो पढाइ खर्च मात्रै उठाउन सकिन्थ्यो,’ उनले भनेका छन्, ‘यस्तोमा मुम्बईमा घरभाडा र खाने खर्च जुटाउन कठिन हुन्थ्यो ।’
धेरैले चर्चित भएपछि साथीभाइले बिर्सिने र समय दिन नसक्ने गुनासो गर्छन् । तर कार्तिकले आफू पुराना साथीभाइसँग नै रमाउने बताएका छन् ।
‘म कलेजका साथीभाइसँग बढी रमाउँछु । मेरा सबै साथी पुराना छन्, र मलाई उनीहरुसँगै घुम्न मन पर्छ । किनकि उनीहरुसँग घुम्दा कामको तनावबाट मुक्ति मिल्छ,’ उनी भन्छन् ।
कार्तिकले धेरै पटक आफूले साइन गरिसकेका फिल्मबाट पनि हटाएको गुनासो गरेका छन् । तर यस्ता कुराले आफूलाई धेरै कुरा सिकाएको कार्तिक बताउँछन् ।
बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4