
काठमाडौं । प्रियंका चोपडा र कान्स फिल्म फेस्टिभल एकअर्काका पर्याय हुन् । तर केही हलिउड प्रोजेक्टमा व्यस्त भएकाले यी बलिउड अभिनेत्री यसपटक कान्समा सहभागी हुन सकिनन् ।
यद्यपि, उनले सामाजिक सञ्जालमार्फत भए पनि खुसी बाँडेकी छन् । प्रियंकाको यस्तो खुसी कान्समा प्रस्तुत एसियाली दबदबालाई लिएर देखिएको छ ।
इन्स्टाग्राम स्टोरीमार्फत उनले नेपाली फिल्म निर्देशक अविनाशविक्रम शाहसहितका एसियाली फिल्ममेकरलाई उनले बधाई दिएकी छन् । प्रियंकाले सेयर गरेको स्टोरीमा शाहको तस्वीर पनि छ ।
शाह निर्देशित छोटो फिल्म ‘लोरी’ले यसपटकको कान्समा छोटो फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड जितेको थियो । उत्कृष्ट निर्देशकको अवार्ड जितेका दक्षिण कोरियाका पार्क चन वुक, अभिनेता सङकाङ हो, इरानी अभिनेत्री जार अमिर इब्राहामी र पटकथा लेखक तारिक सलेहको तस्वीर पनि सेयर गर्दै प्रियंकाले बधाई दिएकी छन् ।
प्रियंका लेख्छिन्, ‘कान्स २०२२ का सबै विजेतालाई बधाई छ । खासगरी एसियाका प्रतिभाशाली विजेताको जितलाई लिएर मनैदेखि बधाई दिन चाहन्छु ।’ केही साताअघि प्रियंकाले एसियाली ट्यालेन्टको लागि आफूले काम गर्ने समेत बताएकी थिइन् ।
प्रियंकाको कम्पनी पर्पल पेबल फिल्म्सले नेपाली भाषाको फिल्म ‘पाहुना : द लिटल भिजिटर्स’ पनि निर्माण गरेको छ ।
प्रतिक्रिया 4