
काठमाडौं । दलित आन्दोलनका अभियन्ता भगत सर्वजित विश्वकर्माको जीवनमाथि फिल्म ‘सर्वजित’ निर्माण हुने भएको छ । १७ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शनिबार बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले फिल्मको मुहूर्त गरे ।
फिल्म निर्माणको औपचारिक सुरुआत गर्दै प्रधानमन्त्री देउवाले सरकार जातीय छुवाछूत र भेदभाव उन्मूलन गर्न कटिबद्ध रहेको बताए । सो अवसरमा देउवा र पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्मको कल्याप–बोर्ड निर्देशक दिनेश डीसीलाई हस्तान्तरण गरे ।
दलित महिला केन्द्रले निर्माण गर्ने फिल्मले जातीय छुवाछूतको अन्त्यका लागि विश्वकर्माले संगठन स्थापना गरी चलाएको संघर्ष पेश गर्छ । रणेन्द्र बराइलीद्वारा लिखित पुस्तकमाथि फिल्म आधारित हुने जनाइएको छ ।
१ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण हुने फिल्मलाई पर्यटनमन्त्री आलेले पनि सघाउने प्रतिबद्धता जनाए । उनले आफ्नो दल एकीकृत समाजवादीको लेबी कटाएर पाँच महिनाको पारिश्रमिक फिल्म निर्माणमा प्रदान गर्ने घोषणा गरे ।
ऐतिहासिक कथावस्तुमा आधारित हुने यो फिल्मको छायांकन बागलुङ, पाल्पा, पोखरा, बनारस र काठमाडौंमा हुने जनाइएको छ । रंगमंचका नयाँ कलाकार लिएर बनाउन लागिएको फिल्मको पटकथा जनक खड्काले लेखेका छन् ।
मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, एनबी महर्जनको एक्सन, एलिस कार्कीको पाश्र्वसंगीत रहने फिल्मको डिजिटल राइट डीएर मूभिजले लिएको छ ।
समारोहमा १ लाख रुपैयाँ राशीको ईभा कसेल सामाजिक न्याय पुरस्कार २०७९ शम्भु हजारा पासवानलाई प्रदान गरियो । सो अवसरमा पूर्वमन्त्री मीन विश्वकर्मा, दलित सांसदहरु र अधिकारकर्मीले दलित आन्दोलनको बारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया 4