
२२ जेठ, धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षका विनोद शाहीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश कमिटीले यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।
स्थानीय तहको निर्वाचनमा भएको सामान्य विवादपछि १७ जेठदेखि बेपत्ता भएका शाहीको शनिबार शव भेटिएको थियो ।
‘पाँच दिनदेखि हराइरहेको बालकको खोजीमा प्रशासनको उदासिनताले कतै प्रहरी प्रशासनको मिलेमतोमा हत्या भएको त भन्ने आशंका पैदा भएको छ,’ अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सहसंयोजक कल्पना पाल र सचिव मनोज राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यथाशीघ्र दोषीलाई पक्राउ गरी हदैसम्मको कारवाहीका लागि नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौँ ।’
ज्ञापन पत्र बुझ्दै डीआईजी आचार्यले घटनाबारे गम्भीर भएको भन्दै सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट नेतृत्वको टोली अछाम गएको छ ।
प्रतिक्रिया 4