
२२ जेठ, काठमाडौं । कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल र गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ । उनका कविताले आफैंसँग संलाप गरिरहेजस्तो लाग्छ’, शर्माले भनिन् ।
समीक्षक राजकुमार बानियाँले भने कवि गुरुङले कविता सिर्जनामा देखाएको निष्ठाको प्रशंसा गरे । ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रुपले पुष्टी गरेका छन्’, बानियाँले भने ।
कवि श्रवण मुकारुङले दशकौं पछि पढ्दा समेत पुराना नलाग्ने कविता सिर्जना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताए । ‘सर्जकले आज सृजना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्नुहुँदैन । भोलिको समयलाई समेत सान्दर्भीक हुने रचना गर्नसक्नु नै लेखकीय सामथ्र्य हो’, मुकारुङले भने ।
‘जब एउटा मान्छे हराउँछ’ मा ५० थान कविता समेटिएका छन् । २ सय ४९ रुपैयाँ मूल्य रहेको संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो । यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ नामक कवितासंग्रह प्रकाशित भएको थियो ।
प्रतिक्रिया 4