+
+

साउनदेखि काठमाडौंमा घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते २१:२८

२३ जेठ, काठमाडौं । काठमाडौंका बासिन्दाले अब आगामी साउन १ गतेबाट स्रोतमै फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् । तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फल्न रोक्ने उनीहरुको चेतावनी छ ।

सोमबार महानगरपालिका, सहरी विकास मन्त्रालय र सम्बन्धित स्थानीय तहरुबीच भएको सहमतिअनुसार साउनबाट भने काठमाडौंमा घर, पसल, होटल, रेस्टुरेन्टसहित सबै फोहोर उत्पादन गर्नेहरुले कुहिने र नकुहहिने फोहोर छुट्टाछुटै रुपमा राख्नुपर्नेछ ।

महानगरपालिकाले केही दिनमै सूचना जारी गर्ने एक अधिकारीले बताए । कडाइ पूर्वक फोहोर वर्गीकरण गर्न प्रोत्साहनको नीति पनि ल्याइने ती अधिकारीले बताए ।

महानगरपालिकाका मेयर बालेन साहले चुनावी अभियानकै क्रममा कुहिने र नकुहिने फोहोर लिने गाडी छुट्टा छुट्टै दिनमा पठाउने बताउँदै आएका थिए । उनले कुहिने र नकुहिने फोहोर छुट्याएर दुबैबाट महानगरले आम्दानी गर्न सक्ने बताउँदै आएका छन् ।

जैविक र अजैविक फोहोरको वर्गीकरण गर्ने अभ्यास धरान र धनकुटा लगायतका स्थानीय तहले गर्दै आएका छन् ।

काठमाडौं महानगरले यो अभ्यास थालेपछि ललितपुर महानगरपालिकासहित उपत्यकाका अन्य नगरपालिकाले पनि यही विधिबाट फोहोर संकलन गर्न बाध्य हुनेछन् । किनकी उपत्याकाको सबैजसो नगरपालिकाले अहिले सिसडोल र बञ्चरेडाँडामै फोहोर फालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?