
काठमाडौं । भुवन केसीको सुपर काजल फिल्म्सले ‘पारस’ शीर्षकमा नयाँ फिल्म निर्माण गर्ने भएको छ । मंगलबार अनलाइनखबरसँग कुरा गर्दै भुवनले ‘पारस’ प्रोजेक्टलाई अघि बढाउने र भदौदेखि छायांकन सुरु हुने बताए ।
‘पारस’ बन्ने भएपछि सुपर काजल फिल्म्सले निर्माण गर्ने भनेको अर्को फिल्म ‘माइतीघर २’ तत्काल नबन्ने भएको छ ।
‘अहिलेको परिस्थिति हेर्दा कमर्सियल फिल्ममै जानुपर्ने भएकाले पारस निर्माणको निर्णय भएको छ,’ भुवनले भने, ‘निर्देशक र कलाकार चाँडै फाइनल हुनेछन् ।’
फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी हुनेछन् भने नायिकाको खोजी भइरहेको भुवनले बताए । यसअघि नायिका पनि लिइएको र उनलाई वर्कसपमा अभिनय सिकाइएको चर्चा थियो ।
‘पारस’लाई यसअघि सिमोस सुनुवारले निर्देशन गर्ने चर्चा थियो, तर भुवनले निर्देशक फाइनल नभएको बताए । भुवन स्वयंले पनि निर्देशन गर्ने सम्भावना छ । ‘म पनि हुनसक्छु र अर्को केही पनि हुनसक्छ,’ उनले भने ।
एक्सन लभस्टोरी कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा अनमोलले मुख्य पात्र ‘पारस’कै भूमिकामा अभिनय गर्दैछन् ।
प्रतिक्रिया 4