
अघिल्लो शनिबार राति १० बजे आएको फेसबुक म्यासेजमा जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टलका बालिकाहरूमाथि यौन दुर्व्यवहार भएको सूचना थियो । ‘उनीहरू योे कुरा अरूलाई भन्न डराइरहेका छन् ।
हामीले थाहा पाएर गएको बिहीबार प्रिन्सिपल सर र मेडमलाई भन्यौं, तर उहाँहरूले हाम्रो कुरै सुन्नुभएन । त्यो सरले मायाले त्यसो गरेको हो भनेर उल्टै हप्काएर पठाउनुभयो । तपाईंहरू जसरी भए पनि स्कुल जानुहोला, दिदी…’, म्यासेजमा उल्लेख थियो ।
यौन दुर्व्यवहार तथा बलात्कार विरुद्ध बोल्दै, बेलाबखत लेख्दै आएकी म त्यो म्यासेज बढेर हतप्रभ भएँ । म्यासेज गर्ने बहिनीलाई म चिन्दिनथें । यो कुरा हो, होइन पत्ता लगाउँ भने राति १० बजेको छ । म विलखबन्दमा परें । मेरो आफन्तकी सानी छोरी पनि त्यहाँ राखिएकोले म त्यो स्कुल गइरहन्छु, संरक्षकको हिसाबले । यौन दुर्व्यवहार हुने गरेको भए उनीहरूले मलाई भन्नुपर्ने हो !
मलाई म्यासेज पठाउने नानीलाई साढे १० बजे फेसबुक म्यासेन्जरमा म्यासेज पठाएर यो म्यासेज देख्नासाथ रिप्लाइ गर भनें । उनी सुतिसकेकी रहिछन्, रिप्लाइ गरिनन् । मेरो मनमा रातभर कुरा खेलिरहे । बिहान ५ बजे पनि उनले मेरो म्यासेज पढेकै थिइनन् । साढे ६ बजे बल्ल मोबाइल नम्बर पठाइन् ।
तत्कालै उनलाई फोन गरेर सोध्दा थाहा भयो, ‘होस्टलका बच्चाबच्ची र अन्य विद्यार्थीलाई समेत होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गर्दै आएका रहेछन् ।’ तिमीहरूले कहिले थाहा पायौ भनेर सोध्दा ती नानीले भनिन्, ‘रामजी सरले गर्ने नराम्रो व्यवहार पहिल्यै थाहा थियो । हाम्रो ग्रुपलाई पनि नराम्रो गर्छ भन्ने कुरा बिहीबार थाहा पाएको ।’
त्यसपछि हाम्री नानी लिन स्कुल पुगें । उसलाई ल्याएर सोध्दा वृत्तान्त बताइन् । उनलाई पनि एक्लै परेको बेला ‘कति केजीकी छ्यौ भन्दै उचाल्ने, अँगाल्ने, छातीमा लगाउने स्कुलको ब्याच चलाउने गर्दा रहेछन् । ७–८ कक्षाका विद्यार्थीलाई पोर्न भिडियो देखाउने, हिपमा समाउने, स्तन छाम्ने, किस गर्न खोज्ने, खुसी भएको बहानामा अँगालो हालेर कस्ने गरेको रहेछ ।
बिहान ११ बजे आसपासमा स्कुलको लेखापाल रहेकी प्रिन्सिपल पत्नी लक्ष्मी भण्डारीलाई फोन गर्दा स्कुलमै कुरा गरौंला भन्नुभयो । म तुरुन्त भाइलाई लिएर स्कुल गएँ । भाइले प्रिन्सिपल को हुनुहुन्छ भनेर सोध्दा उहाँले ‘तपाईं को हो मेरो स्कुल पस्ने ?’ भन्नुभयो ।
त्यसपछि मेरो भाइ र प्रिन्सिपलबीच भनाभन सुरु भयो । त्यहीबेला बौद्ध प्रहरी आएर प्रिन्सिपल र लक्ष्मी म्यामलाई भ्यानमा हालेर लग्यो । हामी पनि पछि–पछि बौद्ध प्रहरी वृत्त पुग्यौं । त्यहाँ पो थाहा भयो, प्रिन्सिपल सर र म्यामले वार्डेन बस्नेतलाई अघिल्लै दिन भगाइसकेका रहेछन् ।
शनिबार परेकोले किटानी जाहेरी दिन केही ढिला भयो । धेरै कुरा अझै थाहा नपाइसकेको अवस्थामा अबेला रामजी बस्नेतका नाममा किटानी जाहेरी दिएर हामी फर्कियौं । त्यही रात बस्नेतलाई रामेछाप प्रहरीले समातेछ । आरोपित पक्राउ परेको कुराले पीडित पक्ष खुसी हुने नै भयो ।
सर्वनाम स्कुलमा भएको यो अपराधको प्रष्ट जनाउ हो– कतिपय स्कुल संचालकलाई बालिकाहरूको अस्मिताभन्दा पैसा प्यारो बन्न थालेको छ । शिक्षा व्यापार भएपछि यौन दुर्व्यवहार र बलात्कार सामान्य बन्दै गएको छ । प्रिन्सिपल नै यौन दुराचार लुकाउन उद्यत हुुन्छन् भने बालिका सुरक्षित राख्न हामी कहाँ जाने ?
भोलिपल्ट आइतबार कक्षा ७ की मनिटर बैनी पनि अभिभावकहरूसँग बौद्ध प्रहरी वृत्त आएकी रहिछन् । यौन दुर्व्यवहारको सूचना उनैले प्रिन्सिपल समक्ष पुर्याएकी थिइन् । डीएसपीले उनीसहित हामीलाई एउटा कोठामा राख्नुभयो । ती नानी बोल्न थालेपछि ३०–४० जना अटी–नअटी बसेको कोठामा सन्नाटा छायो ।
अन्त्यमा उनले भनिन्, ‘रामजी सरले होस्टलकाहरूलाई पनि त्यसै गर्नुहुन्छ भन्ने कुरा बिहीबार सुनेपछि म एउटी केटी भएको नाताले यो कुरा प्रिन्सिपललाई सुनाउनैपर्छ भन्ने लाग्यो । अनि यौन दुर्व्यवहार गरिएका २० जना जम्मा भएर प्रिन्सिपल सरकहाँ गयौं । त्यहाँ म्याम पनि हुनुहुन्थ्यो । रामजी सर ठिक हुनुहुन्न, उहाँले पोर्न भिडियो देखाउने, छातीमा छामछुम गर्ने, हिप सुम्सुम्याउने, अँगालो मार्ने, जाङमा हात लैजाने गर्दै आउनुभएको छ । होस्टलमा रहेका साना बालिकालाई पनि त्यसै गर्नुहुन्छ ।’
त्यहीं भएका प्रिन्सिपल र म्यामलाई देखाउँदै उनले भनिन्, ‘तर सर र म्याम दुवैले रामजी सरले माया गर्नुभएको हो, आइन्दा यस्तो कुरा गर्यौ भने ठिक हुँदैन भन्नुभयो । शुक्रबार म स्कुल आएर कक्षामा त बसें, तर नराम्रो लागिरह्यो । छुट्टी हुने बेलामा एक्लै चौरमा गएर रोइरहें । त्यही बेला म्याम आएर ‘आइन्दा यस्तो कुरा गर्ने कि नगर्ने ?’ भन्दै हातमा बेस्सरी चिमट्नुभयो । त्यसपछि प्रिन्सिपल सरले बोलाएर ‘आइन्दा यस्तो कुरा लिएर आयौ भने राम्रो हुने छैन’ भन्दै हकार्नुभयो । त्यहाँबाट चउरीमा आएर रोइरहें । घर जान मन लागेन । अनि मलाई खोज्दै आमा र हजुरआमा आउनुभएछ । मैले सबै कुरा उहाँहरूलाई भनिदिएँ ।’
ती नानीका आमा र हजुरआमा अरू आफन्तलाई पनि लिएर कुरा बुझ्न जाँदा प्रिन्सिपलले ‘सुगरको बिरामी भएकाले ३४–३५ वर्षको भए पनि रामजी सरलाई यौन इच्छा नहुने, यौन दुर्व्यवहारको भ्रम मात्र भएको, फेरि उनी स्कुल छाडेर गइसकेको भनेर फर्काएछन् ।
एउटा शिक्षकले यत्रो अपराध गर्दागर्दै अपराध होइन भनेर यसरी ढाकछोप गर्नु प्रिन्सिपल र उनकी पत्नी कति दोषी छन् ? दुर्व्यवहार भोगेका छात्राहरू कुन मनोविज्ञान बोकेर, कसरी त्यो स्कुलमा पढ्न सक्लान् ? पीडित बालिकाहरूले भोगेको मानसिक पीडाको क्षतिपूर्ति कसले भर्छ ?
यो प्रकरणमा वार्डेन रामजी बस्नेतको अपराध लुकाउन यो तहको कसरत गर्ने प्रिन्सिपल र लेखापाललाई मुख्य मतियार मानिनुपर्छ । साथै, अन्य शिक्षक/शिक्षिकालाई पनि प्रश्न गरिनुपर्छ । उनीहरूलाई सोधिनुपर्छ– कक्षा ७ की एक बालिकाको विवेक नजागेको भए ती अबोधहरूले अझै कति पीडित हुनुपर्थ्यो ?
सर्वनाम स्कुलमा भएको यो अपराधको प्रष्ट जनाउ हो-कतिपय स्कुल सञ्चालकलाई बालिकाहरूको अस्मिताभन्दा पैसा प्यारो बन्न थालेको छ । शिक्षा व्यापार भएपछि यौन दुर्व्यवहार र बलात्कार सामान्य बन्दै गएको छ । प्रिन्सीपल नै यौन दुराचार लुकाउन उद्यत हुन्छन् भने बालिका सुरक्षित राख्न हामी कहाँ जाने ?
प्रतिक्रिया 4